काठमाडाैँ । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सीमित अवधिमा धेरै कम गर्नुपर्ने आवश्यकता रहेको बताएकी छन् । उनले नेपालको पूर्वाधार विकासमा ठूलो बजेटको खाँचो रहे पनि सीमित स्रोत साधनबाट काम गरिरहेको बताइन् ।
मन्त्रालयमा आज एसियाली विकास बैंक (एडिबी)का प्रतिनिधिसँगको छलफलमा मन्त्री झाँक्रीले एडिबीको सहयोगमा चालु योजना द्रुतगतिमा अघि बढाउन आग्रह गरिन् । उनले भने, “हामीसँग समय सीमित छ, गर्नुपर्ने काम धेरै छन् । एडिबीले गरिरहेको सहयोग र गर्ने भनेका परियोजनाको काम पनि छिटो होस् हाम्रो चाहना छ ।”
मन्त्री झाँक्रीले राष्ट्रिय शहरी नीति परिमार्जन तथा शहरी विकास ऐनको मस्यौदा अन्तिम चरणमा पुगेको बताउँदै यसले सङ्घीयता अनुसारका शहरीकरणका परियोजनामा सहकार्य गर्ने बाटो खोल्ने बताइन् । उनले नेपालमा लगानी गर्न सकिने थुप्रै क्षेत्र रहेको र सीमित स्रोत साधनमा काम गरिरहेको बताइन् ।
“विकास निर्माणका धेरै आयोजनामा काम भइरहेका छन्, हामीसँग सीमित बजेट हुँदा धेरै काम गर्न सकिरहेका छैनौँ,” उनले भनिन् ।
छलफलमा एडिबीको दक्षिण एसिया विभागका महानिर्देशक केनिचि योकोयामाले मन्त्रालयसँग आफू सधैँ सहकार्य गर्न तयार रहेको बताउँदै नेपालले समयमै काम सक्नमा ध्यान दिनुपर्ने बताए । उनले शहरीकरणको गुजरात मोडलअनुसार अब बन्ने शहरीकरणका परियोजना बनाउन सुझाव दिए ।
हाल एडिबीको लगानीमा नेपालमा भइरहेका कामको समिक्षा र भविष्यमा लगानीको सहकार्य गर्न सकिने क्षेत्रबारे कार्यक्रममा छलफल भएको सहसचिव तथा मन्त्रालयका प्रवक्ता रवीन्द्र बोहराले जानकारी दिए ।
छलफलमा सचिव मणिराम गेलाल, शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पद्मकुमार मैनाली, मन्त्रालयका सह–सचिव प्रकिर्ण तुलाधर, मन्त्रालयका प्रवक्ता रवीन्द्र बोहोरा लगायतको सहभागीता रहेको थियो ।