राष्ट्रिय भलिबल प्रतियोगिता : आर्मी र पुलिस फाइनल प्रवेश



धनगढी । धनगढीमा जारी ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’ मा विभागीय टिम त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब फाइनल प्रवेश गरेका छन् । आजको सेमिफाइनलका खेलमा जित हासिल गर्दै यी दुवै टोली फाइनलमा प्रवेश गरेका हुन् ।

आज भएको पहिलो सेमिफाइनलमा अर्को विभागीय टोली एपिएफलाई ३–१ को सेटले पराजित गर्दै आर्मी प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । पहिलो सेट २५–२१मा र दोस्रो सेट २५–१६ ले जितेको आर्मीले तेस्रो सेट भने २४–२६ ले गुमाएको थियो । चौथो सेट २५–१८ ले जित्दै आर्मी फाइनलमा पुगेको हो । उक्त खेलका ‘म्यान अफ द म्याच’ आर्मीका मानबहादुर श्रेष्ठ भए ।


आजै भएको अर्को सेमिफाइनलमा गण्डकी प्रदेशलाई ३–२ को सेटले पराजित गर्दै विभागीय टोली नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ । पहिलो सेट २५–१६ मा र दोस्रो सेट २५–१९ मा जितेको पुलिस क्लबले तेस्रो सेट २२–२५ मा तथा चौथो सेट २३–२५ ले गुमाएको थियो । पाँचाैँ सेट १५–१२ ले जित्दै पुलिस क्लब फाइनलको यात्रा तय गरेको हो ।

खेलका ‘म्यान अफ द म्याच’ पुलिस क्लबका रविन चन्द भए । फाइनल प्रतिस्पर्धा शनिबार बिहान हुने आयोजक सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले जनाएको छ । प्रतियोगिताको विजेताले रु चार लाख, उपविजेताले रु दुई लाख, तेस्रो हुने टोलीले रु एक लाख र चौथो स्थान प्राप्त गर्ने टिमले रु ५० हजारसहित ट्रफी र मेडल प्राप्त गर्ने जनाइएको छ ।