भेरी नदीमा तीन बालबालिका बेपत्ता, खोजीमा गोताखोरसहितको टोली परिचालन



सुर्खेत । सुर्खेतस्थित भेरी नदीमा बेपत्ता भएका तीन बालबालिकाको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर टोलीले परिचालन गरिएको छ । न

म्बर ३२ रक्तकाली गण सुर्खेतबाट १४ जनाको विपद् उद्धार टोली र बाँकेको शम्शेरगञ्जस्थित रिर्जभ गणबाट चार जनाको गोताखोर टोली परिचालन गरिएको हो । सुर्खेतको भेरीगङ्गा नगरपालिकास्थित रामघाट दशरथपुर जोड्ने झोलुङ्गे पुल नजिक शनिबार भेरी नदीमा नुहाउने क्रममा स्थानीय तीन बालबालिका बेपत्ता भएका थिए ।


बेपत्ता हुनेमा भेरीगङ्गा नगरपालिका–११ रामघाटका १० वर्षीया गङ्गा खड्का, आठ वर्षीया कृष्णा सिञ्जाली र लेकबेंसी नगरपालिका–५ खल्टाकुराका १० वर्षीय दिनेश बुढा रहेका छन् । स्थानीय रोजिता थापा र लक्ष्मी पच्भैयाले नदीमा बालबालिका बगिरहेको देखेपछि आफन्तलाई खबर गरेका थिए ।

सशस्त्र प्रहरी बल नम्बर ३२ रक्तकाली गणका प्रमुख विमल डाँगीले खोजीकार्य जारी रहेको जानकारी दिए । विपद् उद्धार टोलीको नेतृत्व सशस्त्र प्रहरी नायब उपरीक्षक करण धाँमी र गोताखोर टोलीको नेतृत्व सशस्त्र प्रहरी सहायक निरीक्षक रमेश थापाले गरेका छन् ।

“आज बिहान १० बजेदेखि गोताखोर र विपद् उद्धार टोली परिचालन गरिएको हो, हालसम्म बेपत्तालाई फेला पार्न सकिएको छैन”, गणका प्रमुख डाँगीले भने, “गोताखोर टोली खोज्दै रामघाटदेखि सत्तरीतर्फ गइरहेको छ ।”