बम विष्फोटमा परी इटहरीमा दुई जना घाइते



सुनसरी । इटहरीमा बम विष्फोटमा परी दुई जना घाइते भएका छन् ।

गएराति इटहरी उपमहानगरपालिका–२ को नवजागृति टोलको एकघरमा सुतली बम विष्फोट भएको हो । बम विष्फोटमा परी नवजागृति टोलका २२ वर्षीय रविन थापा र लमजुङका २३ वर्षीय शेरजंग गुरुङ घाइते भएका इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक खगेन्द्र खड्काले जानकारी दिएका छन् ।


प्रहरीका अनुसार थापाको डेरामा बम विष्फोट भएको थियो । विष्फोटमा परी घाइते भएका थापाको विराटनरआँखा अस्पताल र गुरुङलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको छ । घटनास्थलबाट हिमाल सुरक्षा परिषद् नेपालको पर्चा बरामद भएको प्रहरीले बताएको छ । परिषद्ले हिन्दू राष्ट्रको माग गर्दै फागुन १५ गतेबाट सशस्त्र संघर्षको घोषणा गरेको थियो ।