दोलखाको झ्याकुमा ट्र्याक्टर दुर्घटना, एकको मृत्यु चार घाइते



दाेलखा । दोलखाको गौरीशङ्कर गाउँपालिका झ्याकुमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

गैरीशङ्कर गाउँपालिका–४ झ्याकु गोर्पाङमा ना६त २७७५ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा झ्याकु निवासी ३३ वर्षीय लीलाबहादुर खत्रीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । दुर्घटनामा परी सोही वडा निवासी १५ वर्षीय ङाङ्छुङ शेर्पा, २१ वर्षीय आङ्फुर्वा शेर्पा, ५० वर्षीय पछिरी शेर्पा, १७ वर्षीय र आङ्टोपे शेर्पा घाइते भएको दोलखा प्रहरी निरीक्षक अञ्जन कोइरालाले बताए ।


घाइतेमध्ये १५ वर्षीय ङाङ्छुङ शेर्पाको निधारमा चोट लागेको कारण सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौँ ट्रमा सेन्टर रिफर गरिएको छ भने अन्य बिरामीको सिंगटी अस्पतालमा उपचार भइरहेको छ । गाउँपालिका वडा नं ४ गोर्पाङबाट ढुङ्गा लिएर झ्याकु जाँदै गरेको ट्र्याक्टर अनियन्त्रित भई करिब २०० मिटर सडकबाट तल खसेको प्रहरीले जनाएको छ । दुर्घटना कसरी भएको भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।