जन्ती बोकेको ट्रिपर दुर्घटना : दुईको मृत्यु, २४ जना घाइते



सिन्धुलीमाढी ।दनभण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको दुधौली नगरपालिकामा जन्ती बोकेको ट्रिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । साथै दुर्घटनामा परि अन्य २४ जना जन्ती घाइते भएका छन् ।

सिन्धुलीको दुधौली नगरपालिका–५ सिर्थौली बाणीगाउँबाट आइतबार राति उदयपुरको कटारीतर्फ जन्ती लिएर जाँदै गरेको ना३ख ७४९० नम्बरको ट्रिपर सिर्थौली नजिकै ठाकुर खोला पुलमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


कार्यालयका अनुसार दुर्घटनामा परी उदयपुरको कटारी नगरपालिका–२ निवासी २४ वर्षीय अजय दनुवार र सोही ठाउँका १९ वर्षीय दिपेन्द्र कुमरको मृत्यु भएको छ । मृत्यु भएकामध्ये एक जनाको सिन्धुली अस्पताल र अर्का एक जनाको सिर्थौली प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको हो ।

बेहुला, बेहुलीको भने छुट्टै गाडिमा भएकाले दुर्घटनाबाट जोगिएका छन् । अन्य छ जना घाइतेको अवस्था गम्भीर रहेको छ । घाइतेमध्ये सात जनाको उपचारका लागि विराटनगरको न्यूरो अस्पताल, चार जनाको काठमाडौं, एक जनाको कटारीको सगरमाथा अस्पताल र दुई जनाको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ । १० जना भने सामान्य उपचारपछि घर फर्किएका कार्यालयले जनाएको छ ।

ट्रिपरका चालक र अर्का एक जना जन्ती सकुसल रहेको र चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाका सम्बन्धमा अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक विमलराज कंडेलले जानकारी दिए ।

ट्रिपरमा २८ जना सवार रहेका थिए । ट्रिपर चालकले दिएको जानकारी अनुसार मोटसाइकललाई बचाउने क्रममा ट्रिपर पल्टिएको हो ।