आधिकारिक सञ्चालकको रुपमा सूचीकृत हुन आह्वान



काठमाडाैँ । यातायात व्यवस्था विभागले नेपाल र भारतबीच सवारीसाधन सञ्चालन गर्न चाहने सेवा प्रदायकलाई आधिकारिक सञ्चालकको रुपमा सूचिकृत हुन आह्वान गरेको छ ।

विभागले आज एक सूचना जारी गर्दै नेपाल भारतबीच सञ्चालन हुने सेवा प्रदायकलाई नियमन गर्न सूचीकृत गर्न लागिएको जनाएको छ । काठमाडौँ वा देशका अरु शहरबाट भारतका विभिन्न स्थानसम्म १३ रुट निर्धारण गरिएको छ । एक देशको आधिकारिक सञ्चालकको लागि दिइएको इजाजत अर्काे देशमा बहु–प्रवेशको लागि एक वर्षसम्म मान्य हुने र बढीमा पाँच वर्षसम्म नबीकरण हुने बताइएको छ ।


अनुमतिपत्र प्राप्त सवारीसाधनले प्रवेश गर्दा वा बाहिरिँदा आधिकारिक बाटो, अध्यागमन विन्दु र भन्सार केन्द्र प्रयोग गर्नुपर्ने विभागले जनाएको छ । ती सवारीसाधनले सवारी दर्ता प्रमाणपत्र, जाँच प्रमाणपत्र, वीमा कागजात, बाटो इजाजतपत्र, प्रदूषण जाँच प्रमाणपत्र, चालक अनुमतिपत्रलगायत कागजात साथमा हुनुपर्ने उल्लेख छ । त्यस्तै, एक देशमा दर्ता भएर सम्झौताअनुसार सञ्चालन अनुमति पाएका सवारीसाधनले अर्काे देशको भू–भागमा स्थानीय यात्रु तथा मालसामान ढुवानी गर्न नपाउने व्यवस्था गरिएको छ ।