स्थानीय तहको सल्लाहपछि मात्रै चुनावी तालमेलको निर्णयः महामन्त्री शर्मा



चितवन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशलाई सही दिशामा लैजान कांग्रेस कटिबद्ध रहेको बताएका छन् । सोमबार चितवनको भरतपुरमा पत्रकारहरुसँग कुरा गर्दै महामन्त्री शर्माले कांग्रेस र सरकारको ध्यान अहिले निर्वाचनमार्फत देशलाई सही दिशामा लैजान केन्द्रित भएको बताए ।

महामन्त्री शर्माले सरकारले अहिले जनताको जीवन रक्षाको कामसँगै सदनबाट हुने कामलाई पनि अघि बढाइरहेको भन्दै जनादेश लिएको (नेकपा एमाले) सरकार चलाउन पनि नसकेको र संसद् पनि चल्न नदिने गरेको आरोप लगाए ।


जनादेशको अपमान गर्दै एमालेले संसद् भङ्ग गरेको उनले बताए । उनले भने, “सरकार पनि चलाउन नसक्ने संसद् पनि चल्न नदिने भनेपछि जनताको जनादेशको अपमान कस्ले गरेको छ ।”

फरक प्रसङ्गमा उनले केन्द्रीय समितिको बैठकले मात्रै निर्वाचनमा तालमेल हुने नहुने निर्णय गर्ने बताए । उनले भने, “निर्वाचनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा केन्द्रीय समितिको बैठक बोलाइएको छ । बैठकले निर्णय गर्छ ।” महामन्त्री शर्माले स्थानीय तहको राय सल्लाहाबिना केन्द्रले निर्णय नगर्ने भन्दै विगतमा भएका कमजोरी र राम्रा कामको समीक्षा गर्दै अघि बढ्ने बताए ।