काठमाडाैँ । गृहमन्त्री बालकृष्ण खाँणले व्यवसायमैत्री वातावरण निर्माण गर्न सरकार गम्भीर ढङ्गले लागेको बताएका छन् ।
नेपाल निर्माण व्यवसायी महासङ्घको २३औँ साधारणसभा एवं १२औँ अधिवेशनको अवसरमा उनले निर्माण उद्योग व्यवसायलाई व्यवस्थित र प्रभावकारी बनाउन नीतिगत सुधारलगायत सहजीकरणका कामलाई प्राथमिकता दिएको उल्लेख गरे ।
गृहमन्त्री खाँणले निर्माण उद्योगको उत्थानका लागि सार्वजनिक खरिद नियमावलीको एघारौँ संशोधनसँगै खरिद ऐन नै संशोधन गर्ने तयारीमा सरकार रहेको जानकारी दिए । सदन सञ्चालन भएसँगै खरिद ऐन संशोधनका लागि सरकारले प्रयास गर्ने मन्त्री खाँणको भनाइ थियो ।
निर्माण उद्योग मुलुकको धरोहर हो भन्दै मन्त्री खाँणले भने, “निर्माण उद्योगका लागि अत्यावश्यक सुरक्षा दिन सरकार सधैँ तयार छ ।” एमसिसी परियोजना भौतिक पूर्वाधार विकास विस्तारसँग प्रत्यक्ष सम्बन्धित भएकाले त्यस परियोजना पारित गरेर सरकारले ऐतिहासिक काम गरेको उनले बताए ।