विप्लवद्वारा नारायणकाजीसँग कार्यगत एकताको प्रस्ताव



काठमाडौँ । संसदबाट एमसीसी अनुमोदन भएपछि सत्तारुढ नेकपा माओवादीभित्र असन्तुष्टि बढेको छ । विशेष गरी एमसीसीलाई लिएर नेता नारायणकाजी श्रेष्ठ बढी असन्तुष्ट भएका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै नेता श्रेष्ठले पार्टीभित्र र अन्य दलका नेताहरुसँग यसबारे छलफल सुरु गरेका छन् ।

यसैक्रममा नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले बुधबार बिहान श्रेष्ठलाई भेटेका छन् । श्रेष्ठलाई भेट्न विप्लव बुधबार बिहान उनकै निवास हरिसिद्धि पुगेका थिए । एमसीसीविरोधी पक्षधरहरुको कार्यगत एकताका लागि समेत केही नेताहरुले माग गरिरहेका बेला श्रेष्ठ र चन्दबीच भेट भएको हो । भेटमा विप्लवले कार्यगत एकताका लागि प्रस्ताव गरेको बताइएको छ ।


सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले एमसीसीको विरोध गर्दैमा जनमत आफ्नो पक्षमा नआउने भन्दै चर्चा आउनका लागि विरोध नगर्न श्रेष्ठलाई चेतावनी दिएका थिए । प्रचण्डले श्रेष्ठलाई आफ्ना विचार पार्टी बैठकमा राख्नुपर्ने बताएका थिए ।

त्यसपछि नारायणकाजी झनै रिसाएका थिए । उनी रिसाएको थाहा पाएपछि प्रचण्डले मंगलबार नारायणकाजीसँग भेटगरी फकाउने प्रयास गरेका थिए । प्रचण्डले उनलाई माओवादी केन्द्रलाई एकतावद्ध बनाएर अघि बढ्न आग्रह गरेका थिए ।

एमसीसी प्रकरणलाई लिएर माओवादीभित्रै तीव्र मतभेद भइरहेका बेला विप्लवसँगको भेटलाई महत्वका साथ हेरिएको छ । कतिपयले त माओवादी विभाजनको संघारमा पुगेको विश्लेषणसमेत गर्न थालेका छन् ।