युक्रेनको हवाई क्षेत्र नियन्त्रणमा लिन रुस असफल



बेलायतको रक्षा मन्त्रालयले रुस युक्रेनको हवाई क्षेत्रमाथि नियन्त्रण गर्न असफल भएको बताएको छ । युक्रेनको हवाई क्षेत्रलाई कब्जा गर्नु मस्कोको प्रमुख उद्देश्यमध्ये एक भएको बेलायती रक्षा मन्त्रालयले जनाएको छ ।

उसले भनेको छ, ‘द्वन्द्वको सुरुवाती दिनमा युक्रेनको हवाई क्षेत्र आफ्नो नियन्त्रणमा ल्याउनु रुसको प्रमुख उद्देश्यमध्ये एक थियो । तर निरन्तर प्रयासपश्चात् पनि त्यसो गर्न असफल हुनुले रुसी पक्षको प्रगतिलाई धुमिल बनाएको छ।’


यद्यपि माइकोलाइभमा रुसी हवाई हमलाहरू दिनभर भइरहेको विवरणहरू सार्वजनिक भएका छन् । त्यहाँ करिब २०० सैनिकहरू बसिरहेको बताइन्छ । सडकमा जारी झडपका कारण मारिओपोलस्थित एक नाटकघरको भग्नावशेषमा फसेका मानिसहरूको उद्धार प्रभावित भएको जनाइएको छ । बुधबार रुसले उक्त नाटकघरमा बम आक्रमण गरेको थियो ।

त्यहाँ अझै पनि सयौँ मानिसहरूले आश्रय लिइरहेका बताइएको छ । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले त्यहाँको भूमिगत तलामा १३ सय जना मानिस रहेका बताएका थिए । तर झडपका कारण उद्धारकर्ताहरूलाई त्यहाँ पुग्न वाधा भइरहेको मारिओपोलका नगरप्रमुखर्ले बताएका हुन् । नगरप्रमुखका अनुसार रुसी सेनाले त्यस दक्षिणी बन्दरगाह सहरलाई घेरेका छन् र निरन्तर गोलाबारी भइरहेको छ।