मूल्यवृद्धिको विरोधमा निर्माण व्यवसायी



महेन्द्रनगर । निर्माण सामग्रीमा भएको मूल्यवृद्धिको विरोधमा कञ्चनपुरका निर्माण व्यवसायीले प्रमुख जिल्ला अधिकारीलाई सोमबार ज्ञापनपत्र बुझाएका छन् । उनीहरुले यहाँका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका हुन ।

निर्माण व्यवसायी सङ्घ कञ्चनपुरले निर्माण कार्यमा मूल्य समायोजन गर्न ज्ञापनमार्फत मागसमेत गरेको छ । निर्माण व्यवसायी सङ्घ कञ्चनपुरका अध्यक्ष प्रेमप्रकाश भट्टले निर्माण सामग्रीको मूल्य वृद्धि भएपछि सोही अनुसार निर्माण कार्यको लागत बढाउन माग गरे ।


अहिले छड, सिमेन्ट लगायतको निर्माण सामग्रीको मूल्य ह्वात्तै बढेको छ । “डेढदशक अघि पनि यसरी मूल्यवृद्धि हुँदा सरकारले निर्देशिका बनाएर मूल्यवृद्धि समायोजन गरेको थियो”, अध्यक्ष भट्टले भने, “यो पटक पनि मूल्यवृद्धिका बारेमा सरकारको ध्यान जाओस भनेर ज्ञापन दिएका हौं ।”