महोत्सवले आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पुग्छ : प्रधानमन्त्री देउवा



दमाैली । प्रधानमन्त्री शेरबहादुर देउवाले मेला महोत्सवले आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पुग्ने बताएका छन् । तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजनामा आजदेखि दमौलीमा सुरु भएको आठौँ तनहुँ महोत्सवको उद्घाटन गर्दै उनले कोभिड–१९ ले थला परेको अर्थतन्त्र चलायमान बनाउन स्थानीयस्तरमा आयोजना हुने मेला महोत्सवबाट सहयोग पुग्ने उल्लेख गरे ।

आर्थिक तथा सामाजिक क्षेत्रको विकासका लागि मेला महोत्सव सार्थक सिद्ध हुने उल्लेख गर्दै प्रधानमन्त्री देउवाले भने, “कोरोनाले दुई वर्षदेखि रोकिएका मेला महोत्सव सञ्चालन हुनु अर्थतन्त्रका लागि राम्रो हो ।” हरेक नेपालीलाई कोभिड–१९ विरुद्धको खोप लगाइएकाले नेपालीमा आत्मबल बढेको उनको भनाइ थियो । स्थानीय स्तरमा उत्पादन हुने वस्तुको प्रचारप्रसार र बजारीकरणमा महोत्सवबाट सहयोग पुग्नुपर्ने प्रधानमन्त्री देउवाले बताए ।