प्रतिनिधिसभाको अर्को बैठक चैत २ गते बस्ने



काठमाडाैँ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाविरुद्ध महाभियोग प्रस्ताव पेश भए लगत्तै बैठक स्थगित भएको हाे।

बैठकको प्रारम्भमै नेकपा (एमाले)का सांसदहरुले नाराबाजी गर्दै ‘वेल’ घेराउ गरेका थिए । नाराबाजीकाबीच सभामुख अग्निप्रसाद सापकोटाले एमालेका सांसद डा भीमबहादुर रावललाई बोल्ने समय दिएका थिए । सांसद रावलले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसिसी) सम्झौताका केही असन्तुष्टी सम्बोधन हुनुपर्ने धारणा व्यक्त गर्दै अनुमोदनपछि एमसिसी कार्यान्वयनको अवस्थाबारे जनताले जानकारी पाउनुपर्ने बताए ।


साथै उनले भारतीय पक्षबाट नेपालको पश्चिम सीमानामा एकतर्फी रुपमा तटबन्ध निर्माण गरिरहेको उल्लेख गर्दै त्यसबारेमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका थिए । सांसद रावलले कालापानी, लिपुलेक र लिम्पियाधुराको जमिन फिर्ता ल्याउन सरकारले गरेका प्रयास बारेमा पनि जानकारी माग गरेका थिए ।

बैठकमा नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले नेपालको सिमानामा भारतले एकतर्फी रुपमा तटबन्ध निर्माण गरिहेको सम्बन्धमा नेपाल सरकार किन बोल्दैन भनी प्रश्न गरे । साथै उनले सिमाना विवाद समाधानका बारेमा के पहल भइरहेको छ भनी सभामुखमार्फत सरकारसँग जानकारीको माग गरे ।

प्रतिनिधिसभाको अर्काे बैठक आगामी चैत २ गते १ बजे बस्नेछ ।