पूर्वमन्त्री सिंह र अभिनेतृ करिश्मा मानन्धर एमाले प्रवेश



काठमाडौँ । अभिनेत्री करिश्मा मानन्धर नेकपा एमाले प्रवेश गरेकी छिन् । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले उनलाई पार्टी प्रवेश गराएका हुन् । मानन्धरसँगै समाजवादी जनता पार्टी (सजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रेमबहादुर सिंह पनि एमाले प्रवेश गरेका छन् ।

सिंहको नेतृत्वमा रहेको समाजवादी जनता पार्टी एमालेमा समाहित भएको हो । सिंह पुष्पकमल दाहाल नेतृत्वको सरकार हुँदा खानेपानीमन्त्री थिए । सिंह यसअघि एमालेमै आबद्ध थिए । अभिनेत्री मानन्धर भने बाबुराम भट्टराईको नेतृत्वको नयाँ शक्ति पार्टीबाट राजनीतिमा सक्रिय रहेकी थिइन् । तर पछिल्लो समय उनी राजनीतिमा निष्क्रिय रहेकी थिइन् ।


कार्यक्रममा अभिनेत्री मानन्धरले एमाले साँचो अर्थमा मुलुकको समृद्धि र विकासका लागि काम गरिरहेको पार्टी भएकाले आफ्नो रोजाइमा परेको बताइन् । उनले भनिन्, ’एमाले प्रवेश गर्नुको पहिलो कारण त अध्यक्ष ओली नै । उहाँको इनर्जी र प्रेरणा नै हो । ६ महिनाको अन्तरालमा मैले उहाँलाई २ पटक भेटेँ । उहाँको गुणगान नगाउने मान्छे नै छैन ।’ उनले आफू कुनै पदका लागि एमालेमा नआएको भन्दै नितान्त एउटा कार्यकर्ताका रूपमा एमालेमा जोडिन आएको बताइन् ।