परमादेशीहरुलाई हामी निर्वाचनबाटै ठेगान लगाउन सक्छौँ : ओली



पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले परमादेशीहरुलाई निर्वाचनमार्फत ठेगान लगाइने बताएका छन् । शुक्रबार पोखरामा प्रेस चौतारी नेपालको नवौं महाधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले परमादेशीहरुलाई ठेगान गाउने एकमात्र विकल्प निर्वाचन भएको बताएका हुन् । उनले महान जनताको साथ आफूहरुलाई भएकाले उनीहरु पराजित हुने बताए ।

उनले जनादेशको सरकारलाई अदालतले हटाएर कहीँ नभएको काम नेपालमा भएको बताए । उनले भने,‘जनादेशको सरकारलाई हटाएर परमादेशबाट सरकार बन्छ । अमेरिकाबाट एउटा न्यायाधीशको इमेल आउँछ र केपी ओलीको सरकार ढाल्नु भनेर । अनि त्यही हुन्छ । अदालतले यस्तो काम कहीँ गर्दैन । के विगार्दैको थियो र त्यो न्यायाधीशको ? तर नेपालका यस्तो भयो । अहिले गोरु मात्र ब्याएको छैन होइन पाँच वटा बाछा पायो सर्वोच्च अदालतले ।’


उनले नेकपाको दुई तिहाईको सरकार रहेको तर प्रचण्ड र माधव नेपालका कारण ढलेको बताए । उनले भने, ‘दुई तिहाइको सरकार थियो । प्रचण्ड र माधव नेपाललाई दशा लाग्यो ढाले । अहिले ढोका बाहिर कुरेर बसेका हुन्छन् भित्रबाट प्रसाद ल्याउँछन् कि भनेर । तर तपाइँहरु चाहिँ यसरी बुद्धि नविगार्नुस् ।’ उनले अहिले गलत कुरा जनतालाई सम्प्रेषण गर्ने काम भइरहेकाले सत्यको सम्वाहक बन्न सुझाव दिए ।

उनले केपी ओली र नेकपा एमालेको विरोध गरेर समाचार नआए किन भन्दै त्यसको खोजि गर्न लागिएको भन्दै सत्य कुरा लेख्न नडराउन आग्रह गरे । उनले भने,‘धरहरा, रानीपोखरी बन्दा टाउको दुखाउनेहरु छन् । परमादेशीहरुको विरोधमा लेख्यो भने एकपक्षीय भयो भन्नेहरु छन् । बौद्धिक विकाउ प्रवृत्ति बढेको छ । यसमा साहस देखाउनुस् । भयमुक्त भएर अघि बढ्नुस्।’