नागरिकमैत्री व्यवहार सिकाउन ३५ ट्राफिकलाई प्रशिक्षण



काठमाडाैँ । नागरिकमैत्री व्यवहारलगायत विभिन्न सीप विकासका लागि ३५ ट्राफिक प्रहरीलाई प्रशिक्षण दिन थालिएको छ ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको समन्वयमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले प्रहरी हवल्दार÷प्रहरी जवान लक्षित ‘नागरिकमैत्री सेवा तथा मानवअधिकार विशेष अनुशिक्षण’ कार्यक्रम आजदेखि सुरु गरेको हो । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले तालिम उद्घाटन गर्दै यस्ता व्यावसायिक तालिमले प्रशिक्षार्थीहरूको वृत्ति विकासमा महत्वपूर्ण भूमिका खेल्नुका साथै नागरिकहरूसँग गर्ने व्यवहारमा थप सुधार हुने बताए ।


उनले ट्राफिक प्रहरीको व्यवहार दुरुस्त भयो भने प्रहरी सङ्गठनकै छवि उच्च हुने भएकाले आम नागरिकलाई गर्ने व्यवहार अझै बढी दुरुस्त, न्यायिक र निष्पक्ष हुनुपर्नेमा जोड दिए । जनताले रुचाइएको, निष्पक्ष, प्रविधिमैत्री एवं जनउत्तरदायी ट्राफिक प्रहरीको रूपमा आफूलाई प्रस्तुत गर्न प्रशिक्षार्थीहरूलाई उनले निर्देशन दिए । आगामी दिनमा प्रहरी कर्मचारीहरूबाट सडक र कार्यालयमा आउने सेवाग्राहीसँग गरिने आचरण, व्यवहारलाई थप शिष्ट, सभ्य र मर्यादित बनाइ सेवा प्रवाहलाई पारदर्शी, सरल, सहज एवं प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

कार्यावधि पाँच दिन रहेको उक्त तालिममा प्रहरी हवल्दार सात र प्रहरी जवान २८ जना गरी कूल ३५ (८ महिलासहित) प्रशिक्षार्थीहरूको सहभागिता छ । उक्त तालिममा नागरिकमैत्री व्यवहार, सामाजिक समावेशीकरण, लैङ्गिक सचेतना, मानवअधिकार, स्थानीय संस्कृति, परम्परा, भाषा तथा प्रचलनको सम्मानसहितको प्रहरी कार्य आदि विविध विषयका स्रोत व्यक्ति तथा विषय विज्ञद्वारा सैद्धान्तिक एवं व्यावहारिक प्रशिक्षण प्रदान गरिने छ ।