चीनमा बढ्न थाल्यो कोरोना सङ्क्रमितको सङ्ख्या



चीनमा केही दिनयता कोरोना भाइरसका सङ्क्रमित बढ्न थालेको पाइएको छ । चीनका विभिन्न सहरमा सोमबार मात्र कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या तीन हजार ५०७ जना भेटिएका नेशनल हेल्थ कमिसनले मङ्गलबार जनाएको छ ।

नयाँ स्थानीय सङ्क्रमणमध्ये जिलिनमा ३ हजार ७६ शानडोङमा १०६, सान्सीमा ५३, तियान्जिनमा ५१, ग्वाङ्दोङमा ४८, फुजियानमा ३३, झेजियाङमा ३१, लिओनिङमा २४, जियाङ्सुमा २०, हेबेईमा १३ जनामा सङ्क्रमण देखिएको समाचारमा जनाइएको छ । बाँकी घटनाहरु सांघाई, हेइलोङजियाङ, गान्सु, बेइजिङ, गुआङ्सी, युनान, गुइझोउ, आन्हुइ र हेनानमा देखिएको जनाएको छ ।


सोमबार कुल ९५ वटा आयातित कोभिड–१९ का घटना सार्वजनिक भएको आयोगले आफ्नो दैनिक प्रतिवेदनमा जनाएको छ । सोमबार ११ हजार ९८४ जना कोरोनाका बिरामी उपचाररत थिए । जसमध्ये ८ जनाको अवस्था गम्भीर थियो । सन् २०१९ को डिसेम्बरमा चीनको हुबे प्रान्तको वुहान शहरबाट शुरु भएको यस रोगको प्रकोपपछि मुख्य भूमिमा कूल चार हजार ६३६ व्यक्तिको यस भाइरस सङ्क्रमणको कारण मृत्यु भएको थियो । त्यहाँका सबैजसो नागरिकालाई कोरोना पुनःहुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै निरन्तर परीक्षण गरिरहेको बताइएको छ ।