गठबन्धनभित्र रहेका दललाई चित्त दुख्ने गरी अभिव्यक्ति नदिनु : प्रधानमन्त्री



काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता तथा कार्यकर्ताहरुलाई स्थानीय तहको निर्वाचनमा जुट्न निर्देशन दिएका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा नेता तथा कार्यकर्ताहरुलाई प्रशिक्षण दिन आयोजित कार्यक्रममा प्रधानमन्त्रीले नेता कार्यकर्तालाई निर्वाचनमा जुट्न निर्देशन दिएका हुन् ।

त्यसक्रममा प्रधानमन्त्रीले सत्तारूढ गठबन्धनभित्र रहेका दललाई चित्त दुख्ने गरी अभिव्यक्ति नदिन पनि पार्टीका नेताहरूलाई निर्देशन दिएका छन् । उनले गठबन्धन दल र प्रतिपक्षी नेकपा एमालेलाई चित्त दुख्ने गरी कुरा नगर्न निर्देशन दिए । कांग्रेस प्रतिपक्षी दललाई पनि राम्रो व्यवहार गर्ने पार्टी भएको उनको भनाइ थियो।


कांग्रेसले ‘घर–घर जाऔं, कांग्रेस जिताऔं अभियान’ सार्वजनिकसमेत गरेको छ । सभापति देउवाले यस अभियानलाई सफल बनाउनका लागि पार्टीका केन्द्रीय नेताहरुलाई ७७ वटै जिल्लामा खटिन निर्देशन दिएका छन् । फागुन २९ गतेदेखि चैत २९ सम्म सञ्चालन हुने अभियानका लागि आठ उद्देश्य निर्धारण गरिएको छ ।

पहिलो उद्देश्यमा निर्वाचनमा मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपील गर्दै निर्वाचनको माहोल बनाउने उल्लेख छ । स्थानीय निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी गराउन वडा र टोल तहसम्म पार्टी भित्र सौहार्दता, एकता र उर्जा अभिवृद्धी गर्ने र कांग्रेस उम्मेदवारलाई विजयी गराउन मतदातालाई अपील गर्न पनि नेता कार्यकर्ताहरुलाई आग्रह गरिएको छ ।

त्यस्तै ‘हरेक काँधलाई भारि, हरेक हातलाई जिम्मेवारी’ को नीति साथ पार्टीको विधानमा व्यवस्था गरिएका जिम्मेवारी बाँडफाँट गरे पार्टी पंक्तिलाई स्थानीय निर्वाचनमा वृहत्तर परिचालन तर्फ उन्मुख गराउने पनि अभियानको उद्देश्य रहेको छ।