काठमाडौँमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु



काठमाडाैँ । काठमाडौँमा आजदेखि अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) सुरु भएको छ । ‘विश्वभरका कथाको उत्सव, नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ भन्ने नाराका साथ आजदेखि पाँचदिने महोत्सव सुरु भएको हो ।

महोत्सवको उद्घाटनका दिन आज नुवाकोटको तारुकामा परम्परागतरूपमा मनाइने गोरु जुधाइ पर्वका विषयमा पुरु लम्सालले निर्देशन गर्नुभएको वृत्तचित्र ‘गोरु पर्व’ प्रदर्शन गरिएको थियो । पाँच दिनसम्म चल्ने महोत्सव यसपटक पाँचौँ संस्करण हो । छनोट भएका चलचित्र राष्ट्रिय सभागृह र पर्यटन बोर्डमा प्रदर्शन गरिनेछ । महोत्वसमा ३८ मुलुकका ८९ चलचित्र प्रदर्शन हुने जनाइएको छ ।


चौथो संस्करण कोरोनाका कारण भर्चुअलरूपमा गरिएकामा यसपटक भने भौतिक उपस्थितिमै गर्न पाइएको भन्दै महोत्सव संयोजक यादव भट्टराईले खुसी व्यक्त गरे । उनले यस कार्यक्रमले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय क्षेत्रमा पु¥याउने र विदेशी चलचित्रबाट नेपाली कलाकारले त्राण हासिल गर्ने बताए । महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा, छोटा चलचित्र, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्रबीच सात विधामा प्रतिस्पर्धासमेत हुने जनाइएको छ ।

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रमको सहआयोजकका रूपमा चलचित्र विकास बोर्ड, पर्यटन बोर्ड र काठमाडौँ महानगरपालिका रहेका छन् । महोत्सव उद्घाटन समारोहमा महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कार्यक्रमले चलचित्र क्षेत्रलाई थप चलायमान बनाउन सहयोग पुग्ने बताए ।

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले स्टेजमा जति नै बोले पनि नेपाली चलचित्र कमजोर रहेको स्वीकार गर्दै नीतिगतरूपमा केही समस्या रहेको औँल्याए । उनले कलाकारलाई चलचित्रमा उत्कृष्ट कथा खोज्न आग्रह गर्दै त्यसका लागि बोर्डले पनि सहयोग गर्ने प्रतिबद्धता जनाए ।