रूकुमपूर्व । नेकपा (एमाले)को नयाँ जिल्ला कार्य समिति चयन भएको छ । एमालेको आठौँ जिल्ला अधिवेशनले टोपबहादुर ओलीको अध्यक्षतामा ९५ सदस्यीय नयाँ जिल्ला कार्य समिति चयन गरेको हो । ओली यसअघि पनि जिल्ला कार्य समितिको अध्यक्ष थिए ।
नयाँ जिल्ला कार्य समितिको उपाध्यक्षमा दामप्रसाद श्रेष्ठ, सचिवमा गोपाल रेउले, उपसचिवमा भावना विसी र तेजेन्द्र बुढा चयन हुनुभएको छ । उपसचिव बुढा पनि जिल्ला कार्यसमितिको पुरानै अनुहार हो । पदाधिकारीमा उपाध्यक्ष, सचिव र महिला उपससचिव नयाँ आएका हुन् । रुकुमकोटमा फागुन २७ गते उद्घाटन भएको एमालेको आठौँ अधिवेशनले चार दिनसम्मको निरन्तर छलफलपछि नयाँ कार्य समिति टुङ्ग्याएको हो ।
एमालेले केही हिमाली जिल्लामा बाँकी राखेर अन्य सबै जिल्लामा गएको पुस २३ गते जिल्ला अधिवेशन गरेको थियो । यस जिल्लमा पाँच पदाधिकारीसहित ६५ सदस्यीय जिल्ला कार्यसमति चयन गर्ने भनिए पनि आकांक्षीहरू धेरै भएपछि ९५ जनाको जिल्ला कार्य समिति बनाइएको एमालेले जनाएको छ ।