ऊर्जामन्त्री भुसालद्वारा लाहाचोक सवस्टेशन उद्घाटन



कास्की । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले कास्कीको माछापुच्छ्रे«े गाउँपालिका–४ लाहाचोकमा निर्माण गरिएको ‘लाहाचोक १३२/३३/११ केभी’ प्रसारण लाइन सवस्टेशनको उद्घाटन गरेकी छन् ।

मन्त्री भुसालले आगामी दुई वर्षभित्रमा सबै नेपालीका घरमा केन्द्रीय प्रसारण लाइनको विद्युत् पुर्याउने गरी सरकारले नीति, कार्यक्रम र योजना बनाएको उल्लेख गरे । उनले नेपालका नदी, नालाबाट अधिकतम विद्युत् उत्पादनका लागि देशभित्रको लगानीसहित अन्तर्राष्ट्रिय लगानी र साझेदारी खोजिने बताइन् ।


उनले भनिन्, ‘राजनीतिक प्रणालीमा परिवर्तनपछि जलविद्युतको विकासमा सरकारी प्रयास अघि बढेको छ । निजी क्षेत्रका लागि पनि यो खुला गरिएको छ । अहिले बत्तीका लागि होइन ऊर्जाका हरेक क्षेत्रमा विद्युत् प्रयोग गर्ने र पेट्रोलियम पदार्थ, दाउरा र एलपी ग्यासलाई विस्थापित गर्ने अवस्थामा पुगेका छौँ ।’ पानीलाई बिजुलीमा रुपान्तरण गरेर बिजुली अन्तर्राष्ट्रिय बजारमा बिक्री गरी अहिलेको असन्तुलित व्यापार घाटा सन्तुलनमा ल्याउने गरी मन्त्रालयले काम गरिरहेको मन्त्री भुसालले बताइन् ।

सरकारले आगामी १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य राखेको र सो विद्युत् नेपालमा मात्र खपत हुन नसक्ने भएकाले आन्तरिक खपतमा वृद्धि गर्दै विद्युत् व्यापारका लागिसमेत कार्य अघि बढाइएको मन्त्री भुसालको भनाइ थियो । उनले भनिन्, ‘गत वर्ष भारतसँग ७५ मेगावाट विद्युत् बिक्री गरेर व्यापारको सुरुआत गरेका छौँ । आगामी वर्ष ५०० देखि ७०० मेगावाट विद्युत् बिक्री गर्ने योजना छ ।’ 

देशभित्र हाल कुलेखानी बाहेकको अर्को रिजर्भ (जलाशययुक्त) आयोजना नहुँदा हिउँद याममा भारतसँग बिजुली खरिद गर्नुपर्ने बाध्यता रहे पनि अर्को वर्षदेखि आत्मनिर्भर बन्ने अवस्था आउने मन्त्री भुसालले बताइन् ।
गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बरालले सवस्टेशन लगायत प्रसारण लाइन निर्माणका क्रममा स्थानीयवासी प्रभावित भएकाले सरकारले उचित मुआब्जा दिनुपर्ने बताए । उनले भने, ‘सवस्टेशन र प्रसारण लाइनका टावर राख्ने क्रममा यहाँका बासिन्दा पीडित छन् । उनीहरुलाई चित्त बुझाउने काम सरकारले गर्नुपर्छ ।’ 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्कीले लाहाचोक सवस्टेशन निर्माण र सञ्चालनसँगै विद्युत् आपूर्ति र गुणस्तरमा सुधार आउने बताए । उनले स्थानीय जनताको सहयोगप्रति आभार व्यक्त गरे । ‘जनताको सहभागिता विनाको विकास दिगो हुँदैन । त्यसैले जनताको माग सुनुवाइ गर्दै अघि बढ्छौँ’, कार्कीले भने । 

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नयाँ मोदी–लेखनाथ प्रसारण लाइन र यस अन्तर्गतका सवस्टेशनबाट ग्रामीण क्षेत्रसहित पोखराको आधा भूभागमा विद्युत् सेवामा सुधार आउने बताए । राष्ट्रिय प्रसारण लाइन नपुगेका कास्कीका विकट गाउँमा समेत विद्युत् विस्तार गर्न प्राधिकरण तत्पर रहेको उनको भनाइ थियो । 

माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले गाउँपालिका अन्तर्गत हाल मर्दी खोलामा दुई र सार्दी खोलामा एक जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको र सेतीमा दुई आयोजना निर्माणका क्रममा रहेको जानकारी दिए । उनले गाउँपालिकाबाट १४३ मेगावाट जलविद्युत् केही महिनाभित्रमा राष्ट्रिय प्रसारणमा जोडिने भएकाले जलश्रोतबाट नै पालिकाको समृद्धि हुने विश्वास व्यक्त गरे । 

नेपाल सरकार, नेपाल विद्युत् प्राधिकरण र भारतको एक्जिम बैंकको ऋण लगानीमा सो सवस्टेशन निर्माण गरिएको आयोजना प्रमुख रोशन अग्रवालले जानकारी दिनुभयो । कास्कीको मर्दीखोला, सेती नदी तथा पर्वतको मोदीखोला र यस आसपासका नदीबाट उत्पादन भएको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्ने गरी निर्माणाधीन ४२ किमी लामो नयाँ मोदी–लेखनाथ प्रसारण लाइन अन्तर्गत नेपाल विद्युत् प्राधिकरणले सो सवस्टेशन निर्माण गरिएको हो । 

सवस्टेशन नयाँ मोदी–लेखनाथ प्रसारण लाइन अन्तर्गत मोदी जलविद्युत् केन्द्र हुँदै राष्ट्रिय ग्रिडमा जडान भएको र निकट भविष्यमा लेखनाथ १३२ केभी सवस्टेसनमा जोडिने आयोजनाले जनाएको छ । यहाँ जम्मा हुने विद्युत् पोखरास्थित राष्ट्रिय प्रसारण लाइनमा जोड्न अहिले प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको नयाँ मोदी–लेखनाथ प्रसारण लाइन आयोजनाले जनाएको छ । यसको लागत रु एक अर्ब पाँच करोड रहेको छ । भारतको हिताक्षी इनर्जी कम्पनीसँग सन् २०१८ जुन २१ मा निर्माण सम्झौता भएर सन् २०२१ डिसेम्बर २९ मा निर्माण सम्पन्न भएको आयोजनाले जनाएको छ ।