अन्तर्राष्ट्रिय चलखेल रोक्न चुनावी ब्याटल जित्नै पर्छ : प्रचण्ड



विराटनगर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा क्रान्तिकारी शक्तिलाई पराजित गर्नेगरी अन्तर्राष्ट्रिय शक्तिको चलखेल बढेको बताएका छन् । आइतबार विराटनगरमा आयोजित प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘चुनावमा थोरै पनि क्रान्तिकारी विचार राख्ने शक्तिलाई समाप्त गर्ने र दुई पार्टी मात्र बनाउने अन्तर्राष्ट्रिय प्रयत्न जारी छ,’ अध्यक्ष प्रचण्डले भने, ‘त्यसैले आगामी चुनावलाई ब्याटलकै रुपमा लिएर यो ब्याटल जित्नै पर्ने अवस्था छ।’


अन्तर्राष्ट्रिय शक्तिको पछिल्लो गतिविधिलाई सामान्य रुपमा नलिन उनले कार्यकर्तालाई आग्रह गरे । अध्यक्ष प्रचण्डले काँग्रेस र एमालेलाई जस्तो चुनाव हार्ने छुट आफूहरुलाई नभएको बताए । माओवादीले हारे संस्थागत भइनसकेको संघीयता, गणतन्त्र र समावेशीका उपलब्धि हार्ने भन्दै सचेत भएर लाग्न उनले आग्रह गरे ।

‘शान्ति प्रकृयाका सबै काम पुरा नहुँदै र संघीयता र गणतन्त्र संस्थागत नहुँदै चुनाव हारेमा एउटा लामो अभियानमा जानुपर्ने हुनसक्छ,’ उनले भने। प्रचण्डले गठबन्धनमा भर परेर चुनावमा जानेतर्फ सोच्दै नसोच्न आग्रहसमेत गर्नुभयो। आफ्नै बलबुतामा जित्नु पर्ने उनको भनाइ छ।

अध्यक्ष प्रचण्डले व्याख्यात्मक घोषणासहित एमसीसी पारित गरेर आन्दोलन, पार्टी र सरकार जोगाउन सम्भव भएको दाबी गरे । बढी क्रान्तिकारी बन्न खोज्दा विगतमा भएको कटुवाल काण्ड र त्यसअघि गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नबनाउँदा पार्टी र आन्दोलनमा पुगेको क्षति स्मरण गरेर एमसीसी सम्बन्धी निर्णय लिइएको उनले बताए ।

माओवादी कार्यकर्तामा वैचारिक अस्पष्टता, संगठनात्मक अराजकता र व्यक्तिवाद हाबी हुन थालेपछि पार्टीलाई क्रान्तिकारी विचारसहित रुपान्तरण गर्न आठौं महाधिवेशनले स्पष्ट नीति लिएको उनको भनाइ छ। एमालेसँग पार्टी एकता गरेपछि विशाल कम्युनिष्ट पार्टी बनेको र कार्यकर्ता रिल्याक्स गरेर बस्दा वैचारिक धरातल कमजोर भएको उनको भनाइ छ।

एमालेसँग तालमेल गरेर केपी ओलीलाई नायक बनाउने प्रयास गरेको तर खलनायक मात्र भएको टिप्पणी प्रचण्डले गरे । ‘नायक बन्छन् कि भनेर सोचियो। तर, मिस्टर केपी त खलनायक भएर देखिए,’ अध्यक्ष प्रचण्डले भने, ‘पार्टीभित्र खलनायक भएर उभिएपछि संघर्ष सुरु ग¥र्यौं, संघर्ष सुरु गर्नासाथ उनले संसद विघटन गरेर परिवर्तनका उपलब्धि माथि नै प्रहार गरे।’

माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले निर्वाचनमा सबैतिर जित्ने गरी माओवादीले राजनीतिक पहल लिनुपर्ने बताए । उनले आफ्नै बलबुतामा चुनाव जित्ने र गठबन्धनमा मैत्रीपूर्ण सम्बन्ध बनाउनेतर्फ ध्यान दिन आग्रह गरे ।