हेटौँडा सरकारी अस्पतालमा डायलासिस सेवा सुरु



हेटौँडा । हेटौँडा उपमहानगरपालिकाको सहयोगमा हेटौँडा सरकारी अस्पतालमा डायलासिस सेवा सुरु गरिएको छ ।

उपमहानगरपालिकाको समन्वय र सहयोग तथा अस्पतालको प्राविधिक व्यवस्थापनमा डायलासिस सेवा सुरु गरिएको छ । अहिले सो अस्पतालमा १० मेसिनमार्फत बिरामीको डायलासिस भइरहेको छ । हेटौँडालगायत मकवानपुरमा डायलासिस गर्नुपर्ने ५३७ बिरामी रहेका छन् । उक्त सेवा हेटौँडामा पाएपछि जिल्ला बाहिर जाने अवस्था नरहेको उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले जानकारी दिए ।


नगरवासीलाई पहिलो स्वास्थ्य सुविधा दिएपछि पूर्वाधार विकासमा जोड दिएको र आगामी दिनमा समेत अस्पताललाई सहयोग गर्ने उनले बताए । यसअघि हेटौँडामा निजी क्षेत्रबाट सञ्चालनमा रहेको चुरेहिल अस्पतालले मात्र डायलासिस सेवा दिइरहेको थियो । हेटौँडाको सरकारी अस्पतालमा सो सेवा उपलब्ध भएपछि वीरगञ्ज, काठमाडौँ र चितवनलगायत ठाउँ डायलासिसका लागि जाने अवस्था हटेकोमा स्थानीय खुसी भएका छन् ।