स्थानीय तह निर्वाचनमा पार्टीले ६० देखि ७० प्रतिशत सिटमा जित्छ : ओली



काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी स्थानीय निर्वाचनमा एमाले एक्लैले ६० देखि ७० प्रतिशत स्थानीय तहमा जित्ने दावी गरेका छन् ।  मंगलबार पार्टी निकट अखिल नेपाल महिला संघको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो दावी गरेका हुन् । 

अध्यक्ष ओलीले सत्ता गठबन्धनसँग चुनाव लड्न एमाले एक्लै सक्षम रहेको बताए । ‘एमालेलाई कसैको बैसाखी टेक्नुपर्छ, ढोडको लौरो टेक्नुपर्छ भन्ने होइन । हामी एक्लै लड्न सक्छौ’, अ‍ोलीले भने, ‘हामी ६० देखि ७० प्रतिशत एक्लै जित्न सक्छौ । यति जित्नका लागि अरुको साहारा लिनुपर्दैन ।’ 


अध्यक्ष ओलीले जनता झुक्याउन/अल्मल्याउन त्यस्ता कुरा गरेको भन्दै जिस्क्याउने खालका कुरा नगर्न आग्रह गरे । उनले भने,‘कम्युनिष्ट एकता भनेर गीत गाउने बेकारको तमासा हो । कम्युनिष्ट सरकार ढालेर दक्षिणपन्थीको सरकार बनाउनेले के कम्युनिष्ट एकताको कुरा गरेको ?’