मतगणनामा समस्या नहोस् भनेर चुनाव चिन्हको रङ्ग हरियो : निर्वाचन आयोग



काठमाडौँ । निर्वाचन आयोगले मतगणना गर्दा समस्या नहोस् भन्ने उद्देश्यले मात्र पतपत्रमा चुनाव चिन्ह हरियो रङ्गको बनाउन खोजेको प्रष्ट पारेको छ ।

बिहीबार आयोजितत नियमित पत्रकार सम्मेलनमा आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले मतगणनामा सजिलो होस् भनेर चुनाव चिन्ह र स्वस्तिक छापको रङ्ग फरक पारेको जानकारी दिए ।


२०७४ सालको निर्वाचनमा चुनाव चिन्ह पनि नीलो रङ्गको थियो । चुनाव चिन्ह र स्वस्तिक छापको रङ्ग एउटै हुँदा रातको समयमा मतगणना गर्न कठिन भएको पाएपछि आगामी निर्वाचनमा रङ्ग भिनन्ता गर्न खोजेको उनले बताए । मतपत्र छपाइको मसी कस्तो प्रयोग गर्ने भन्ने अधिकार आयोगको रहेको भन्दै उनले मसी परिवर्तन नहुने सङ्केत गरे ।

सहप्रवक्ता अर्यालले मतदाता नामावली अद्यावधिकका काम भइरहेको बताए । आयोगले दोहोरिएको मतदाता नामावली हटाउने, नागरिकता त्याग गरेका र मृत्यु भएका व्यक्तिको नाम सूचीबाट हटाउनेलगायतका काम गरिरहेको छ । निर्वाचन प्रयोजनका लागि आवश्यक २३ प्रकारका निर्वाचन सामग्री खरिदका लागि बोलपत्र प्रक्रिया सम्पन्न भई आपूर्तिकर्तासँग सम्झौता अगाडि बढेको उनले बताए ।

यस्तै मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको नामावली प्राप्त भएको र ती नामावलीमाथि अध्ययन भइरहेको सहप्रवक्ता अर्यालले बताए । स्थानीय तह निर्वाचनका लागि दल दर्ताको काम भइरहेको र निवेदन प्राप्त ८० राजनीतिक दलका निवेदनमाथि अध्ययन जारी रहेको छ । आजै आयोगले राजनीतिक दल दर्तासम्बन्धी निर्णय गर्ने जनाएको छ ।