प्रहरीको मृत्युपछि मोरङको लेटाङमा बिहानैदेखि कर्फ्यु



माेरङ । विद्यार्थीमाथि यौन दुर्व्यवहार घटनामा स्थानीय र प्रहरीबीच भएको झडपका क्रममा एक प्रहरी जवानको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङ नगरपालिकाका केही क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।

जिल्ला अधिकारी काशिराज दाहालले सोमबार बिहान ७ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेको जानकारी दिए ।


दक्षिणमा लेटाङ नगरपालिका ३ र ४, लेटाङ ५ का सबै क्षेत्र, उत्तरमा लेटाङ ६ को वडा कार्यालय क्षेत्र, पूर्वमा मोरङेखोला क्षेत्र र पश्चिममा चिसाङ खोला क्षेत्र तोकेर कर्फ्यु लगाइएको छ।

फागुपूर्णिमाका दिन शिक्षकले विद्यार्थीलाई दुर्व्यवहार गरेको विषयमा बिबाद हुँदै जाँदा घटना भएको हो ।आक्रोशित स्थानीय र प्रहरीबीच आइतबार भएको झडपमा प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो । घटनामा मोरङ प्रहरी उपरीक्षकसहित १० जनाभन्दा बढी प्रहरी र स्थानीय बासिन्दा घाइते भएका छन् ।