पाथीभरा दर्शनका क्रममा एक तीर्थयात्रीको निधन



ताप्लेजुङ । पाथीभरा दर्शनका क्रममा अचानक बेहोस भएर ढलेका एक तीर्थयात्रीको आज निधन भएको छ । बिहान मन्दिर परिक्रमा गर्ने क्रममा सुनसरीको इटहरी नगरपालिका– ९ का खिनबहादुर ढुङ्गानाको निधन भएको हो ।

प्रहरीका अनुसार ६० वर्षीय ढुङ्गाना मन्दिर परिक्रमा गर्ने क्रममा अचानक भूइँमा ढलेकोमा प्राथमिक उपचार केन्द्र फेदीबाट गएका स्वास्थ्यकर्मीद्वारा प्रारम्भिक उपचार भई थप उपचारका लागि जिल्ला अस्पताल ल्याइएको थियो । अस्पतालले ढुङ्गानालाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।


पाथीभरा मन्दिर जानेक्रममा लेक लागेर स्वास्थ्यमा समस्या आएको हुनसक्ने स्थानीयवासीको अनुमान छ । ढुङ्गाना आफ्नो परिवार र नातागोतासहित मन्दिरको दर्शनका लागि माथिल्लो फेदीमा बास बसेर आज बिहान मन्दिर पुगेका थिए ।