निर्वाचन सार्ने कलात्मक षडयन्त्र भइरहेको छ : अध्यक्ष ओली



काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन अझै पनि निर्वाचन सार्ने षड्यन्त्रमा लागेको आरोप लगाएका छन् ।

सोमबार पार्टीको पोलिटब्यूरो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्ता गठबन्धन कलात्मक ढंगले निर्वाचन सार्ने षडयन्त्रमा लागेको भन्दै सजगता अपनाउन पार्टीपंक्तिलाई निर्देशन दिएका हुन् ।


संवैधानिक नियुक्तिविरुद्धको मुद्दामा सर्वोच्च अदालतबाट फैसला गराएर चुनाव सार्ने षड्यन्त्र भएको उनले बताए । उनले भने,‘अहिले पनि कलात्मक ढंगले निर्वाचन सार्ने प्रयास भइरहेको छ । निर्वाचन आयोगका आयुक्तहरुको नियुक्ति बदर गरिदियो भने निर्वाचन हुदैन भन्ने परामर्श भइरहेको छ’, ओलीले भने, ‘दुई जना आयुक्तले मात्रै निर्वाचन सम्भव हुदैन भन्दिनुपर्‍यो भन्नेसम्मका कुरा भइरहेका छन् ।’ ‘ तीन जना आयुक्तिको नियुक्ति बदर गर्ने र दुई जनाले मात्रै हुँदैन भनेर भन्दिनुपर्यो भन्ने षडयन्त्र भइरहेको छ । हामी सतर्कताका साथ निर्वाचनमा जानुपर्छ ।’

उनले यसपटकको निर्वाचनमा मतपेटिकालाई आँखाबाट ओझेल गर्न दिन नहुने बताए । अध्यक्ष ओलीले स्थानीय निर्वाचनमा भरतपुर र सिराहा काण्ड दोहोरिन सक्ने भएको सजग हुनुपर्ने बताए ।

उनले स्थानीय तहमा चुनाव लड्न बहालवाला जनप्रतिनिधिहरुले पहिल्यै राजीनामा दिनुपर्ने प्रावधानप्रति आपत्ति जनाए । कार्यकारणी पदमा रिक्तता पैदा गर्ने गरी आयोगले बनाएको आचारसंहिता दुराशयपूर्ण रहेको उनले आरोप लगाए । उनले भने, ‘मनोनयनसँगै जनप्रतिनिधिले राजीनामा दिनुपर्छ भन्ने कुरा कुनै पनि हिसाबले औचित्यपूर्ण छैन । कार्यकारिणी पद रिक्त राखेर जनताको सेवा गर्न सकिँदैन ।’