एमालेको सरकार बनोस् भन्ने जनताले चाहेका छन् : एमाले अध्यक्ष ओली



नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनको सरकारदेखि जनता आजित भएकाले एमालेको सरकार छिटो बन्नुपर्ने मत जनतामा रहेको बताएका छन् ।

नेकपा एमाले कालीकोटले खाडाँचक्र नगरपालिका–१ मान्ममा आयोजना गरेको आमसभामा उनले वर्तमान सरकारबाट आजित भएर जनताले चाँडै एमालेको सरकार भन्ने चाहेको बताएका हुन् । “विगत तीन वर्ष सरकारमा हुँदा जनताको मन जित्ने काम गरेकाले बाँकी योजना गठबन्धनको सरकारले कटौती गरेको छ”, अध्यक्ष ओलीले भने, “यो देश विकास गर्ने पार्टी हो । देश बनाउने पार्टी हो । गलत कुरा गर्न सकिँदैन । कसैलाई गाली गर्दैन । एमालेलाई बहुमत दिएर सरकारमा पठाएका थिए । तर अदालतले सरकारले ढाल्यो ।”


एमाले सरकारमा हुँदा जनमुखी काम गरेकै कारण अहिले नेपालका जनताले फेरि पनि छिटो एमालेको सरकार बनोस् भन्ने दृढ इच्छा राखिरहेका उनको भनाइ थियो । स्थानीय तहको निर्वाचनमा एमालेकै नेतृत्व हावी हुने र आगामी प्रदेश तथा प्रतिनिधिसभामा पनि एमालेकै सरकार बन्ने उनको दाबी छ । “आउने निर्वाचनमा एमालेले जितेर फेरि सरकार नेतृत्व गर्छ र नागरिकका समस्या समाधान गर्छ”, उनले भने, “गठबन्धनले देशको हित गर्न नसक्ने भन्दै आगामी निर्वाचनमा गठबन्धन पत्तासाफ हुनेछ ।”