१२ हजार घरपरिवारलाई लालपूर्जा वितरण



काठमाडाैँ । सरकारले देशभरिका गाउँब्लकमा रहेका नागरिकलाई जग्गाधनी पूर्जा वितरणको अभियान सञ्चालन गरेको छ । सोही अभियानअन्तर्गत हालसम्म देशभर करिब १२ हजार घरपरिवारलाई लालपूर्जा वितरण गरिएको छ । सरकारले चितवन, सप्तरी, महोत्तरीलगायत जिल्लाका गाउँब्लकमा रहेकालाई जग्गाधनी प्रमाण पूर्जा वितरण गरिसकेको छ ।

केहीदिन अघि भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सो क्षेत्रमा पुगेर जग्गाधनी प्रमाण पूर्जा वितरण गरेकाे थियाे । महोत्तरीको रामगोपालपुुर, सप्तरीको अग्नीसाइर कृष्णसवरण र तिरहुत गाउँपालिकाको गाउँब्लकमा रहेकालाई जग्गाधनी पूर्जा वितरण गरिएको भूमि व्यवस्था मन्त्रालयले जनाएको छ ।


यसैबीच मन्त्री श्रेष्ठले आज चितवनको इच्छाकामना गाउँपालिको गाउँब्लकमा रहेका ३६ भू्मिहिनलाई जग्गाधनी प्रमाण पूर्जा वितरण गरेका छन् । जग्गाधनी पूर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले भूमिसम्बन्धी समस्या समाधानका लागि सरकार लागि परेको बताए । उनले भूूमिहिन दलित, सुकुुम्बासीलाई जग्गा वितरण गर्ने र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न स्थानीय तहसँग सम्झौता गरेर काम अगाडि बढाइएको बताए ।

२०२१ सालयता नापी हुँदा गाउँब्लकका रुपमा रही आफ्नो घर जग्गाको लालपूर्जा पाउन नसकेकालाई जग्गाधनी प्रमाणपूर्जा वितरण गर्न थालिएको उनको भनाइ छ ।

यसैबीच आजै भूमि, व्यवस्थामन्त्री श्रेष्ठको उपस्थितिमा राष्ट्रिय भूमि आयोग र इच्छाकामना गाउँपालिकाबीच भूमिहिन दलित, सुकुम्वासीलाई जग्गा वितरण गर्ने र अव्यवस्थित बसोबासीको व्यवस्थापन सम्बन्धमा कार्य सहमतिपत्रमा हस्ताक्षरसमेत भएको छ । आयोगले यसअघि ६८ वटा स्थानीय तहसँग भूमिहिन दलित र सुकुम्वासीलाई जग्गा वितरण गर्ने र अव्यवस्थित बसोबासीको व्यवस्थापन सम्बन्धमा कार्य सहमतिपत्रमा हस्ताक्षर गरी काम शुरु गरिसकेको छ ।