प्रतिनिधिसभा बैठक फागुन ६ गतेसम्मका लागि स्थगित



काठमाडाैँ । प्रतिनिधिसभा बैठक फागुन ६ गतेसम्मका लागि स्थगित भएको छ । सभामुख सापकोटाले आज बसेको बैठकमा फागुन ६ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको जानकारी दिए ।

आजको बैठक सुरु भएलगत्तै एमाले सांसदहरूले नाराबाजी गरे । तर, उनीहरूको नाराबाजी चलिरहे पनि सभामुख अग्निप्रसाद सापकोटाले बैठकलाई कार्यसूचीमा प्रवेश गराए ।


एमालेले आफूले कारवाही सिफारिस गरेका १४ सांसदलाई सभामुखले सूचना प्रकाशन नगरेकालगायतका विषय उठाएर अवरोध गर्दै आएको छ । सभामुख सापकोटाले कोभिड–१९ का कारण लामो समयदेखि बस्न नसकेको बैठकलाई सञ्चालन गर्न आग्रह गर्दै जनताका आवाजलाई मुखरित हुन दिन र राज्य सञ्चालनका लागि आवश्यक ४२ विधेयकमा छलफल गर्ने वातावरण निर्माणका लागि विशेष अनुरोध गरे ।

सभामुखको पटकपटकको आग्रहपछि पनि विपक्षीले नाराबाजीसहित विरोध जारी राखेका थिए । सभामुख सापकोटाले सदनको अवरोधबारे नागरिक समाज, बौद्धिक जगतलेसमेत चिन्ता जाहेर गरेका सन्दर्भमा पनि ध्यानाकर्षण गराएका थिए ।

सभामुख सापकोटाले अवरोधका कारण संसदीय गतिविधि प्रभावहीन बन्न पुगेको र नागरिकबाट सिर्जित नागरिकको सर्वाेच्च निकायका सम्मानित सदनमा विधि र प्रक्रियाबाट आफ्ना विषय राख्न आग्रह गरे ।

“संसद् सञ्चालन गरौँ, बैठक सुसञ्चालनको वातावरण सिर्जना गरौँ, म विशेष आग्रह गर्दछु”, उनले भने । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेश गरेका थिए । त्यस्तै सभामुखले तीन वटा शोक प्रस्ताव प्रस्तुत गरेका थिए । प्रतिनिधिसभाको अर्को बैठक शुक्रबारका लागि बोलाइएको छ ।