प्रतिनिधि सभामा एमसीसीमाथिको छलफल आजदेखि



काठमाडौँ । प्रतिनिधि सभामा पेस भएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौताबारेमा बिहीबारदेखि सैद्धान्तिक छलफल प्रारम्भ हुने भएको छ । प्रतिनिधि सभा सचिवालयले एमसीसीमाथिको छलफललाई सम्भावित कार्यसूचीमा समावेश गरिसकेको छ ।कार्यसूचीलाई बिहीबार नै बस्ने कार्यव्यवस्था परामर्श समितिले अन्तिम रूप दिनेछ ।

सबैभन्दा पहिले सम्झौताको सैद्धान्तिक विषय माथि बहस हुनेछ । यस बहसमा सांसद्हरुले नाम टिपाएर धारणा राख्न पाउनेछन् । सैद्धान्तिक छलफलपछि विभागीय मन्त्रीले जवाफ दिनुपर्नेछ । जवाफपछि सैद्धान्तिक छलफलको प्रस्ताव स्वीकार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेस हुनेछ । सैद्धान्तिक छलफलपछि दफावार छलफल हुनेछ । दफावार छलफलमा सम्झौताको दफावार रूपमा विस्तृत छलफल हुनेछ । दफावार छलफलपछि भने सम्झौता पारितको चरणमा जानेछ ।


पारित गर्नका लागि प्रतिनिधि सभामा उपस्थित सङ्ख्याको बहुमत आवश्यक पर्नेछ । ध्वनि मत वा मत विभाजन दुवै प्रकारबाट पारित प्रक्रिया अघि बढ्न सक्नेछ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अवरोध जारी रहेकै अवस्थामा भने सम्झौता पारितमा मत विभाजनबाट सहज हुने अवस्था छ ।