देशसँगै पार्टी गम्भीर राजनीतिक दुर्घटनाबाट बचेको छः प्रचण्ड



काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले देशसँगै पार्टी गम्भीर राजनीतिक दुर्घटनाबाट जोगिएको जनाएको छ ।

आइतबार संसदबाट अमेरिकी सहयोग परियोजना (एमसीसी) अनुमोदन भएपछि प्रचण्डको सचिवालयको यस्तो भनाइ आएको हो । प्रचण्डका प्रमुख स्वकीय सचिव गंगा दाहालले सामाजिक सञ्जालमार्फत नेतृत्वलाई विश्वास गर्न पनि आग्रह गरेकी छन् ।


उनले भनेकी छन्,‘एमसीसीको सवालमा आज दिनभरको घटनाक्रमलाई मात्रै नियालेर गहिराईसम्म पुग्न सकिँदैन। एकपटक सोचौं हाम्रो देश सँगै पार्टी गम्भीर राजनीतिक दुर्घटनाबाट बचेको छ। पार्टी नेतृत्वलाई विश्वास गरौं किनभने देश र जनताको हित बाहेक नेतृत्वको अरु कुनै स्वार्थ छैन। धेरै विचार र विवेक पुर्याएर आजको यो निर्णयमा पुगिएको हो। संयमित भएर परिस्थितिको गाम्भिर्यतालाई बुझौं। नेता कार्यकर्ता तहमा नेतृत्वको बिरुद्ध केही भ्रम पैदा गराउन खोजिएको छ सचेत होऔं । एमसीसीलगायत विकसित राजनीतिक घटनाक्रमका बारेमा अध्यक्ष कमरेड प्रचण्डले विशेष सम्बोधन गर्नुहुनेछ। धन्यवाद!’