कोदोको रक्सीलाई ब्रान्डिङ गर्दै गण्डकी विश्वविद्यालय



पर्वत । गण्डकी विश्वविद्यालयले कोदोबाट उत्पादन हुने मदिरालाई ब्रान्डिङ गर्ने भएको छ । गण्डकी प्रदेशका विभिन्न जिल्लामा व्यावसायिक रुपमै उत्पादन हुने मदिरालाई कसरी ब्राण्डिङ गर्न सकिन्छ भनेर अध्ययन सुरु गरिएको हो ।

पर्वत, कास्की, स्याङ्जा, लमजुङ र बागलुङ गरी पाँच जिल्लामा उत्पादित स्थानीय मदिरालाई ब्राण्डिङ गर्नेगरी अध्ययन सुरु गरिएको गण्डकी विश्वविद्यालयका रजिष्ट्रार कैलाश तिमिल्सिनाले जानकारी दिए । ब्राण्डिङ र गुणस्तर मापनको अभावमा घरेलु मदिरा उत्पादनमा प्रतिबन्द तथा उत्पादित मदिरासमेत खेर जाने गरेको छ ।


विदेशी मदिरा आयातमा वृद्धि भइरहेको अवस्थामा यसलाई प्रतिस्थापन गरी स्वरोजगार सिर्जना गर्न र प्रदेशलाई आर्थिक समृद्धितर्फ लैजान ब्राण्डिङको अवधारणा अघि सारिएको हो । गण्डकी प्रदेश सरकारका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको कार्ययोजना अनुरुप कोदोको रक्सीलाई ब्राण्डिङ गर्न थालिएको रजिष्ट्रार तिमिल्सिनाले बताए । गण्डकी प्रदेशमा कोदोको खेती र उत्पादन बढी हुने र घरेलु मदिरासमेत बढी मात्रामा उत्पादन हँदै आएको छ ।