ओलीसँग अनैतिक सम्झौता नगर्न माधव नेपालद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण



काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमसीसी पास गर्ने नाममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग अनैतिक सम्झौंता नगर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् । शुक्रबार संसद भवनबाहिर पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

उनले नेकपा एमालेले एमसीसीमा एमालेको सहयोग चाहिए सभामुख अग्निप्रसाद सापकोटा र आफ्नो पार्टीले कारबाही गरेका १४ जना सांसदहरुलाई बर्खास्त गर्नुपर्ने शर्त राखेकोमा दुःख व्यक्त गरे । अध्यक्ष नेपालले नेकपा एमालेले एमसीसीको बारेमा स्पष्ट धारणा नराखेर अहिलेसम्म न पोथी न भालेको चाल देखाइरहेको बताए ।


उनले प्रधानमन्त्री देउवालाई हतारमा निर्णय नलिन र एमसीसीका केही प्रावधानहरु नसच्याएसम्म आफूहरु विपक्षमा रहने स्पष्ट पारेको पनि बताए ।

उनले भने, ‘हामी नेपालको भूमिलाई छिमेकी मुलुकहरुको बिरुद्धमा प्रयोग हुने कुनै पनि आशंका नरहने कुराको प्रत्याभूति चाहन्छौँ । नेपालको असंलग्न परराष्ट्रनीतिमा हामी तटस्थ रहन चाहन्छौँ । नेपालको भूमिमा ट्रान्समिशन लाइन बन्छ भने र बाटो बन्छ भने त्यसमा नेपालको अधिकार नै रहन्छ । रोजगारीमा नेपालीको अधिकार कायम रहनुपर्छ । लेखा परीक्षणको अधिकारमा नेपालको अधिकार रहनुपर्छ । त्यसमा नेपालको संविधानको सर्वोच्चता हुनुपर्छ । यी सबै कुराको स्पष्टता नभएसम्म स्वभाविक रुपमा यथास्थितिमा हामी एमसीसी पास गर्ने पक्षमा छैनौँ ।’