६८ किलो गाँजासहित तीन पक्राउ



सिन्धुली । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले ६८.४८२ किलो गाँजासहित तीनजनालाई पक्राउ गरेको छ । कमलामाई नगरपालिका–४ खहरेखोलाबाट गाँजासहित उनीहरूलार्य पक्राउ गरिएको हो । पक्राउ पर्नेमा कमलामाई नगरपालिका–१ ओखलेका ४३ वर्षीय कालु ब्लोन, १९ वर्षीय कृष्णबहादुर ब्लोन र मरिण गाउँपालिका–७ देवसरा बस्ने बहादुर गोले रहेका छन् । उनीहरूलाई फागुन १ गते पक्राउ गरी आज सार्वजनिक गरिएको हो ।

प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले कालु र कृष्णबहादुरले टाउकोमा एक/एकवटा बोरा बोकी पञ्चकन्या वनतर्फ जाँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको जानकारी दिए । बोरासमेत खानतलासी गर्दा कालुको साथबाट एक थान मोबाइल र २२ हजार रुपैयाँ बरामद भएको उनले जानकारी दिए । बोराभित्र चारवटा इँटा आकारको प्लाष्टिकले बेरी प्लाष्टिकको डोरीले बाँधेको लागूऔषध गाँजा बरामद गरिएको उनको भनाइ छ ।


कृष्णबहादुरको साथबाट एक थान मोबाइल, उनले बोकेको पहेलो रङ्गको प्लाष्टिकको बोराभित्र तीनवटा इँटा आकारको प्लाष्टिकले बेरीको अवस्थामा लागूऔषध गाँजा बरामद गरिएको प्रहरी नायब उपरीक्षक लामाले जानकारी दिए । उनीहरूबाट बरामद गरिएको गाँजा तौल गर्दा कालुको साथबाट २०.३४ केजी र कृष्णबहादुरका साथबाट १६.२७ केजी गाँजा बरामद भएको उनले जानकारी दिए । उनीहरूलाई सोधपुछ गर्दा कालुले अरू थप लागूऔषध गाँजा आफ्नो भान्जा नाता पर्ने जिल्लाबहादुरसँग छ भनेपछि बहादुरलाई पक्राउ गरिएको उनले बताए ।

“बहादुरले गाँजा सिन्धुली मरिण गाउँपालिका–७ देवसरा बस्ने प्रसाद गोलेको परालको कुन्युमा लुकाई छिपाई राखेको भनेको र परालले छोपी रहेको अवस्थामा दुईवटा सेतो रङ्गको बोराभित्र तीन/तीनवटा इँटा आकारको प्लाष्टिकले बेरी प्लाष्टिकको डोरीले बाँधेको लागूऔषध फेला परेको र तौल गर्दा ३२.२३२ केजी औषध गाँजा बरामद भएको छ”, उनले भने । पक्राउ गरिएकाको साथबाट जम्मा ६८.८४२ केजी गाँजा बरामद गरिएको र तीनै जनाविरुद्ध लागूऔषध ऐनअनुसार थप अनुसन्धानका लागि सिन्धुली जिल्ला अदालतबाट सात दिनको म्याद थप भई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।