स्थानीय चुनाव घोषणाअघि आफ्नो माग सम्बोधन हुनुपर्ने कमल थापाको अडान



काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान अध्यक्ष कमल थापाले सोमबार काठमाडौंमा बोलाएकाे भेलामा उनले चुनाव घोषणाको मितिसम्म आफूले राख्दै आएका माग पूरा हुनुपर्ने अडान राखेका छन् ।ती माग अध्यक्ष लिङ्देनले सम्बोधन नगरे ‘नयाँ यात्रा’ थालनी गर्ने चेतावनी थापाको छ। थापाले राजसंस्था छाडेर हिन्दुवादी दल खोल्ने तयारी गरेका छन्।

पछिल्लो महाधिवेशनबाट अध्यक्षमा पराजित भएपछि थापाले यसमा निर्मल निवासको हस्तक्षेप भएको बताउँदै आएका छन् । यहि विषयमा पार्टीमा छानबिन हुनुपर्ने माग उनको हो । उनले आज सुकेधारामा आफूपक्षिय नेताको भेला गरेर सरकारले स्थानीय चुनावको मिति घोषणा गर्नुअघि नै पार्टी अध्यक्ष लिङ्देनबाट आफूले उठाएका माग सम्बोधन हुनुपर्ने बताएका हुन्।


‘सरकारले सम्भवत आजै स्थानीय तह चुनाव मिति घोषणा गर्न सक्छ। आज अल्टिमेटम दिएर आजै सबै माग पूरा गर्ने भन्ने त होइन तर समय एकदम कम छ,’ उनले भने, ‘मलाई नयाँ यात्रा सिर्जना गरेर दु:ख बेसाउने मन छैन। तर बाध्य बनाउनुभयो भने नयाँ यात्रा सुरू हुन्छ। म त्यो यात्रामा साथ दिन कसैलाई पनि कर गर्दिनँ, आफ्नो स्वेच्छाले निर्णय गर्नुस्, अन्तरआत्मालाई सोधेर निर्णय गर्नुस्। हामी निर्णायक घडीमा आइपुगेका छौं।’

‘स्थानीय चुनाव सरकारले घोषणा गर्नुअगाडि नै हामीले उठाएका तीन विषयमा छलफल गरेर निराकरण हुँदैन र समाधान खोज्नतर्फ लागिएन भने हामी बाध्य भएर विकल्पमा जानुपर्दछ,’ थापाले भने।