सबैले भनौं मिलेर अब जय जय कमल



टिप्पणी ।
अन्ततः कमल थापाले राप्रपा छाडे । तीन कार्यकाल अध्यक्ष भएर तीन दशक बिताएको राप्रपा चौथो पट्क अध्यक्ष हुन नसकेपछि थापाले पार्टी छाडेको जगजाहेर छ । पार्टी महाधिवशेनमा थोरै मतले हारेका थापालाई जित्ने स्वभाव थियो । फस्टम्यान नै भैरहने उत्कट चाहाना थियो, तर पार्टी महाधिवशेनमा उनी कार्यकत्र्ताको मतबाट हारे । उनले आफ्नो हारलाई स्वभाविक लिएन्न, निर्मल निवासले हराएको विश्लेषण गरे ।

त्यति मात्र होईन, अहिले आएर त थापाले आफ्नो राजनीतिक दर्शन नै छोडे । राजसंस्थासहितको हिन्दुराज्य पुर्नस्थापनाको राजनीतिक लाईनले उनी आजका कमल थापा बनेका थिए । तर अब उनले राजसंस्थासंगको साईनो संवन्धमा नै व्रेक लगाए । उनले अब हिन्दु अधिराज्यका लागि आफू अर्को राजनीतिक दल दत्र्ता गरेर लागि पर्ने बताए । एक टेलिभिजन अन्र्तवार्तामा उनले राजा, राजसंस्था अब आफ्नो एजेण्डा नभएको स्पष्ट पारे ।


ठीकै हो, राजनीतिमा उनले राजाको प्रत्यक्ष शासन रहने पंचायतमा राजाकै जयगान गरेर मण्डले राजनीतिको उपमा पाएका थिए । २०४६ को परिवर्तनपछि उनले राप्रपामा मुसा प्रवृत्तिको आविश्कार गरेका थिए । थापाको मुसा प्रवृत्तिको पहिचान र न्वारन राप्रपाकै एक जीवित संस्थापक नेता लोकेन्द्र बहादुर चन्दले गरेका थिए । २०६३ को जनआन्दोलन दबाउने गृहमन्त्री थिए थापा । त्यसको अवसर राजा ज्ञानेन्द्रले नै थापालाई दिएका थिए । त्यसपछि उनले सूर्यबहादुर थापा र लोकेन्द्र बहादुर चन्दवाला राप्रपाले दरवारको एजेण्डाको सही सम्वोधन नगरेको भनेर नयाँ राप्रपा नेपाल राजाकै निगाहा र निर्देशनमा खोलेका थिए ।

पहिलो संविधान सभामा तीन सिट भएको राप्रपाले २०६५ जेठ १५ मा गणतन्त्र घोषणा हुदा विपक्षमा मतदान गरेका थिए । त्यो शायद राजाको लाईन नै थियो । शायद त्यसैको पुस्कारस्वरुप दोस्रो संविधान सभामा राप्रपा नेपालले २५ सिट जितेको थियो । बस, जब राप्रपा नेपाल २५ सिटमा चढ्यो अनि राप्रपामा, कमल थापामा निकै शक्ति बढ्यो । गणतन्त्र विरोधी थापाले २०७२ को संविधान जारी गर्न गणतन्त्रपक्षधरलाई काँध थापे । संघीयता कार्यान्वयन गर्ने र पुरानो शासकीय संरचना ध्वस्त पार्ने पहिलो गणतान्त्रिक स्थानीय विकासमन्त्री तथा उपप्रधानमन्त्री बने । राष्ट्रसंघीय महासभामा गएर नेपालको संविधानको आरती पनि उतारे र कुरा काटनेहरुले त भन्थे, उनले गाई बेचेर नै सत्ताको स्वाद लिएका थिए । कालान्तरमा २५ सभाषदले पनि पार्टी फुटाए । राप्रपा नेपाल पुनः टुटफुटको चक्रव्यूहमा फस्यो ।

कुरो स्पष्ट छ, कमल थापाले आफू अनुकुल राजा, राजसंस्था र हिन्दुत्वको मुद्धा बोकेका रहेछन । आफू अनुकुल हुदा मात्र उनले त्यो मुद्धाको पक्षमा उभिने रहेछन । आफू अध्यक्ष हुन पाए मात्र उनलाई ती मुद्धा सही लाग्ने, आफू अध्यक्ष हुन नपाए ती मुद्धा बेकार हुने कमल थापाको शैली र प्रवृत्ति रहेछ । पछिल्लो पटक पूर्व राजाबाट २ करोड सहयोग लिएको र चाँदीको थालामा भुजा ज्यूनार गरेको पनि उनैले टिभी अन्र्तवार्तामा अलिक अगाडि खुलासा गरेका थिए ।

यी सबै आलोकहरुमा हेर्दा अहिले कमल थापाले राजा, राजसंस्थाको मुद्धा छोडनु र राप्रपामा नरहनु सोह्रै आना सही छ । कोही कसैले कमल थापाको आलोचना गर्नु बेकार छ । कसैले पनि राजनीति जोगि हुन गरेको हुदैन । तर पछिल्लो महाधिवेशनले उनलाई जोगी बनाईदियो । सधै फस्टम्यान हुनुपर्ने स्वभावकन कमलले झापाका राजेन्द्र लिंग्देनसंग चुनाव हारेको स्वीकार गर्न मिलेन । अनि उनले आफू नाच्न नजान्ने आँगन टेढो देख्ने दृष्टिदोषका कारण निर्मल निवासले महाधिवेशनमा हराएको भनेर आफू पानीमाथिको आभानो बने । यो नै कमल शैलीको नयाँ विश्लेषण थियो ।

अब दरवारले जब आफ्नो स्वार्थमा साथ दिएन भने त्यस्ता राजा वा राजसंस्थाको वकालत गर्नु कमल थापाका लागि गलत नै हुन्थ्यो । त्यसैले, उनले सबै कुरा अहिले छाडिदिए र अब उनले नयाँ दल, नयाँ राजनीति र नयाँ बाटो राजेका छन । त्यसैले अब कमल थापाकोे आलोचना नगर्नु, सके आरती उत्तार्नु, नसके उनको जयभलोको कामना गर्नु नै ठीक होला है । सबैले भनम, मिलेर अब जय जय कमल ।