सत्तारुढ गठबन्धनको बैठक निष्कर्षविहीन, शुक्रबार बिहान १० बजे अर्को बैठक



काठमाडौँ । अमेरिकी सहयोग परियोजना (एमसीसी) मा सहमति जुटाउन बसेको सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक विना निष्कर्ष सकिएको छ । शुक्रबार बिहान १० बजे पुनः बैठक बस्ने गरी आजको बैठक सकिएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन् ।

बैठकमा एमसीसी अघि बढाउन प्रधानमन्त्री शेरबहादुर देउवालगायतका कांग्रेस नेताहरुले आग्रह गरेका थिए । तर माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुले सहमति नजुटाई एमसीसी अघि बढाउन नहुने बतताएका थिए ।यसमा नेताहरु सहमत हुन नसकेपछि शुक्रबार बिहान ९ बजेका लागि बैठक तय गरिएको छ ।


शुक्रबार दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ । भोलिको बैठकमा एमसीसी टेबल गर्ने कांग्रेसले बताउँदै आएको छ । यसअघि आजै एमसीसीकाबारेमा माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीसँग छलफल गरेका थिए भने दिउँसो एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका थिए ।

बुधबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले जबरजस्ती एमसीसी टेबल गरे सरकारबाट बाहिरिने निर्णय गरेको थियो । त्यस्तै एकीकृत समाजवादी पनि एमसीसी यथास्थितिमा अघि बढाउन नहुने पक्षमा छ ।

आजको बैठकमा नेपाली कांग्रेसबाट प्रधानमन्त्री देउवा, नेताहरू कृष्णप्रसाद सिटौला, गगन थापा, पूर्णबहादुर खड्का, कानुनमन्त्री दिलेन्द्रप्रसाद बडु, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल, जनता समाजवादी पार्टीबाट डा. बाबुराम भट्टराई सहभागी थिए ।