म्यानमारद्वारा ८२१ कैदीलाई माफीको घोषणा



म्यानमारले कारागारमा रहेका ८२१ कैदीलाई आम माफी दिइएको घोषणा गरेको छ । आम माफी पाएका कैदीमध्ये ८१४ स्वदेशी रहेका छन् भने सात विदेशी रहेका छन् । उनीहरुलाई हीरक एकता दिवको अवसरमा आम माफी दिने निर्णय सरकारले गरेको अधिकारीले जानकारी दिएका छन् ।

म्यानमारका थप छ महिनाका लागि भन्दै जनवरी ३१ देखि सङ्कटकालको समय अवधि थप गरिएको छ । म्यानमारको सेनाले गत वर्षको फेब्रअरी १ मा सत्ता कब्जा गर्दै सङ्कटकाल लगाएको हो । सेनाको कदमका विरुद्धमा देशभित्रका दल तथा लोकतन्त्रवादी र विश्व समुदाय विपक्षमा उभिएपनि सेना पछाडि हटेको छैन । त्यसअघि भएको निर्वाचनमा धाँधली भएकोले पुनःनिर्वाचन गराउनुपर्ने अडानसहित सत्ता कब्जा गरिएको सेनाको भनाइ छ ।


अन्य पक्ष, विदेशी पर्यवेक्षकले भने निर्वाचन निश्पक्ष र स्वतन्त्ररुपमा नै भएको भन्दै सेनाको आरोपको खण्डन गरेका छन् । सेनाले सत्ता कब्जा गरेपछि म्यानमारका जनता आन्दोलनमा उत्रिएका थिए । आन्दोलनका क्रममा एक हजारभन्दा बढीको मृत्यु भएको छ भने अरु हजारौँ घाइते र गिरफ्तार भएका छन् ।