मेरो राजनीतिक भविष्यनै समाप्त पार्न खोजेपछि नयाँ पार्टीमा लागेंः कमल थापा



काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले आफ्नो राजनीतिक भविष्यनै समाप्त पार्ने प्रयास गरेको आरोप लगाएका छन् ।

शनिबार काठमाडौंका पार्टीको औपचारिक घोषणासभामा अध्यक्ष थापाले आफूहरुले आदर्श मानेको राजसंस्थाले गुटलाई साथ दिएपछि त्यसमा पुनर्विचार गर्न पार्टी नेतृत्वसँग गरिएको आग्रहलाई बेवास्ता गरेर त्यसलाई रद्धीको टोकरीमा फाल्ने काम भएपछि नयाँ अभियानको सुरुवात गर्नु परेको बताए ।


उनले राप्रपा अध्यक्ष लिङदेनले एकपक्षीय ढंगबाट पार्टी संचालन गर्ने र आफूहरुलाई पाखा लगाउने काम गरेपछि निरीह, लाचार भएर बस्नुभन्दा राप्रपा नेपाललाई नै पुनरजागृत गरेर जाने निर्णयमा पुग्नु परेको बताए ।

अध्यक्ष थापाले आफूसँग बहुमत पक्ष हुँदाहुँदै पनि राप्रपा विभाजन नगरेर अलग भएको पनि बताए । उनले राप्रपा नेपाललाई छिट्टै राष्ट्रवादी राजनीतिक शक्तिको रुपमा स्थापित गराउने प्रतिवद्धता पनि व्यक्त गरे । अध्यक्ष थापाले राप्रपा नेपाललाई नेतृत्व दिँदै आएका तत्कालिन अध्यक्ष लाक्पा तामाङप्रति आभार व्यक्त गर्दै अब आफूले कहिल्यै धोका नदिने बताए ।