बेलायती कूटनीतिज्ञ रिचर्ड मोरिसले आत्महत्या गरेको निष्कर्ष



ब्रिटेनको कोभिडसम्बन्धी सरकारी कार्यदलमा काम गरिरहँदा बेपत्ता भएका एक जना कूटनीतिज्ञले ‘गम्भीर तनाव’ का कारण आत्महत्या गरेको अदालती न्यायिक अनुसन्धानले देखाएको छ । रिचर्ड मोरिसको शव बेन्ट्ली ह्याम्पसीअरस्थित आफ्नै घरनजिकै अगस्ट २०२० मा फेला परेको थियो ।

मोरिस, ५२, उक्त क्षेत्रमा सन् २०२० मे ६ मा अन्तिम पटक दौडिरहेको अवस्थामा देखिएका थिए । उनले दैनिक लामो समयसम्म काम गर्नुपरेको, यूकेले कोरोनाभाइरसको महामारीको शक्तिशाली पहिलो लहरको सामना गरिरहँदा उनले मन्त्रीहरूलाई दिने बिफ्रिङ्गको समन्वय गर्नु परिरहेको उक्त सुनुवाइलाई जानकारी गराइएको थिए ।


मङ्गलवार उक्त सुनुवाइको अध्यक्षता गरिरहेका कोरोनरले मोरिसले यूकेको विदेश मन्त्रालयमा काम गर्दा तनाव बेहोरेपछि भविष्यका चिन्ताका माझ आफ्नो ज्यान आफैँ लिएको ठहर गरेका बीबीसीले जनाएको छ । वरिष्ठ कोरोनर क्रिश्टोफर विल्किन्सनले भने, “रिचर्ड मोरिसले गम्भीर र निरन्तर तनाव बेहोरेपछि आफ्नो ज्यान आफैँ लिए ।”

“रिचर्डले वृहत् कार्यदल र एफसीडीओले एकदमै द्रुत रफ्तारमा फैलिरहेको महामारीको अप्ठेरो परिस्थितिमा काम गरिरहेको म बुझ्न सक्छु ।” उनका सहकर्मीहरूले उनी साँच्चै नै मानिसहरूमा रुचि राख्ने र भाषाको अवरोध हुँदासमेत उनमा दया र करुणा प्रस्ट झल्कने गरेको बताएका छन् ।