बाह्र दिनपछि उपत्यकाको फोहर उठ्यो



काठमाडाैँ । बाह्र दिनपछि बल्ल काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन गर्न थालिएको छ । बुधबार स्थानीय र सरोकारवालाबीचका छलफलमा तत्काल सडक निर्माणको काम सम्पन्न गर्ने सहमति भएपछि आज बिहानदेखि उपत्यकको १८ स्थानीय तहका फोहर विसर्जन हुन थालिएको हो ।

तोकिएका समयमा सडक निर्माणको काम सम्पन्न नगरेको जनाउँदै स्थानीयको अवरोधका कारण यही फागुन १ गतेदेखि फोहर उठ्न सकेको थिएन । हाल फोहर विसर्जन गरिएको स्थान नुवाकोटको सिसडोलसम्म पुग्ने छ किलोमिटर बाटो मर्मतको काम समयमा नै सम्पन्न नगरेको जनाउँदै पासाङल्हामु राजमार्गका स्थानीयले गरेको अवरोधका कारण ती स्थानीय तहको फोहर उठ्न नसकेको हो ।


बाह्र दिनपछि फोहरको व्यवस्थापन आज बिहानदेखि हुन थाले पनि यसअघि काठमाडौँ उपत्यकाको सडकमा जम्मा भएको सबै फोहर व्यवस्थापन गर्न भने कम्तीमा पाँच दिन लाग्ने कामपाको भनाइ छ । ती स्थानीय तहको फोहर विसर्जन गर्नका लागि दीर्घ समाधान हुन नसक्दा पटकपटक समस्या उत्पन्न भएको कामपा वातावरण विभागको प्रमुख सरिता राईको भनाइ छ ।

उनका अनुसार २०७० सालदेखि सुरु गरेको बाटो अहिलेसम्म बन्न नसक्दा त्यहाँ पटकपटक स्थानीयले आन्दोलन गर्दा फोहर विसर्जनमा अवरोध हुने गरेको छ । “यस्तो विषयमा केन्द्र सरकार संवेदनशील हुनुपर्छ”, उनले भनिन्, “त्यसका लागि बाटो छिटो निर्माण सम्पन्न गर्न सम्बन्धित निकायले पहल गर्नुपर्छ ।”