जङ्गली हात्ती मृतावस्थामा फेला



कञ्चनपुर । पुनर्वास नगरपालिका–२ अमरैयामा एक जङ्गली हात्ती आज दिउँसो मृतावस्थामा फेला परेको छ । कुण्डा सबडिभिजन वन कार्यालय पचकडीयाका सहायक वन अधिकृत दिनेशकुमार यादवका अनुसार दोदा नदी नजिकैको खल्लास्थित स्थानीय किसानको उखु बारीभित्र जङ्गली वयस्क हात्ती मृतावस्थामा फेला परेको हो ।

तीन दिन अघिदेखि हात्ती यस क्षेत्रमा निरन्तररूपमा देखिँदै आएको थियो । स्थानीय बासिन्दा र वन कार्यालयका कर्मचारीले हात्तीलाई लालझाडी संरक्षण क्षेत्रतर्फ फर्काउने प्रयास गर्दासमेत फर्केको थिएन । “हात्ती बिरामी रहेछ”, अधिकृत यादवले भने, “मृतावस्थामा भेटिएको छ ।”


हात्तीको के कति कारणले मृत्यु भएको भन्नेबारे भेटेरिनरी चिकित्सकले जाँच गरेपश्चात् मात्रै थाहा हुने उनले बताए । मृतावस्थामा फेला परेको हात्तीको वन कार्यालयका कर्मचारी र प्रहरीको टोलीले संयुक्तरूपमा घटनास्थलको मुचुल्का तयार गरेका छन । मृत हात्तीको उमेर करिब १० वर्ष रहेको बताइएको छ ।