चितवनको राप्ती नगरपालिकामा देखियो बर्डफ्लू



चितवन । यहाँ बर्डफ्लू रोगको सङ्क्रमण पुनः देखिएको छ । राप्ती नगरपालिका–६ स्थित अनिता पशुपक्षी कृषि फर्ममा बर्डफ्लू देखिएको हो ।

प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले कुखुरा मर्न थालेपछि यही माघ २५ गते नमूना सङ्कलन गरी काठमाडौँ पठाइएकामा बिहीबार सङ्क्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार बर्डफ्लूको एचपाइभ एनवान सङ्क्रमण देखिएको हो । उक्त फर्ममा दुई हजार कुखुरा छन् ।


उक्त फर्मको एक सय मिटर वरपर रहेका पक्षी नष्ट गर्ने काम आज हुने उनले बताए । फर्मको दुई किलोमिटर वरपर निगरानी राख्दै बेचबिखनमा रोक लगाइने उनको भनाइ छ । शङ्कास्पद फर्महरुको नमूना सङ्कलन गरी परीक्षण गरिने उनले जानकारी दिए ।

बर्डफ्लू रोकथाम तथा नियन्त्रण समिति चितवनको आज बसेको बैठकले बर्डफ्लू नियन्त्रण नियमावली २०७८ अनुसार नियन्त्रणको काम अघि बढाउने निर्णय गरेको उनको भनाइ छ ।