गुल्मीको सिलादीस्थित सार्वजनिक जग्गामा बस्दै आएका दलित सुकुम्बासीलाई लालपुर्जा



तम्घास । गुल्मीको मालिका गाउँपालिका–७ घमिरका विपन्न १२ दलित परिवारले लालपुर्जा पाएका छन् । उनीहरु सडक निर्माणपछि गाउँ नै पहिरोको जोखिममा परेकाले २२ वर्षदेखि सिलादीस्थित सार्वजनिक जग्गामा बस्दै आएका थिए । सार्वजनिक वन क्षेत्रमा बसोबास गरिरहेका विपन्न परिवार घर, पानी, बिजुलीलगायतका सुविधाबाट वञ्चित थिए ।

सार्वजनिक जग्गामा सुकुम्बासीका रुपमा बसोबास गरिरहेका दलित विपन्न परिवारको आधारभूत मानवअधिकार र नागरिक हकबाट वञ्चित भएको विषयलाई लिएर स्थानीय तहको आलोचना भएको थियो । मालिकाले जनप्रतिनिधि निर्वाचित भएकै वर्षबाट सुकुम्बासी व्यवस्थापनको प्रयास गरिरहेको थियो । उनीहरुलाई गाउँपालिकाले डिहीमा जग्गा खरिद गरेर बसोबासको व्यवस्था गरेको गाउँपालिकाका प्रमुख रीतबहादुर थापाले बताए ।


सिलादीको वन नजिकै ५४ वर्षीय जुठे सुनारले ऊर्जाशील २२ वर्ष बिताउनुभयो । घर चुहिने थियो । उहाँ पिउने पानी र बिजुलीबाट पनि वञ्चित हुनुहुन्थ्यो । लालपुर्जाको आशमा थुप्रै पटक नेताको आश्वासन मात्र पाउनुभएको थियो । तर अहिले गाउँपालिकाले लालपुर्जा नै वितरण गरेको छ ।

“लालपुर्जा पाइने आशमा थुप्रै वर्ष बितेको थियो, तर अहिले हातमा पुर्जा नै आयो ।” उनले भने, “लालपुर्जाले मुहारमा खुसी छाएको छ ।” सोही ठाउँकै ७० वर्षीय गोरे सार्कीले लालपुर्जा पाएपछि संसार जितेजस्तै महसुस भएको प्रतिक्रिया दिए । उनले भने, “गाउँपालिकाले घरसँगै पानी बिजुली दिने भएकाले खुसी छौँ ।”

गाउँपालिकाले प्रतिपरिवार जग्गा खरिदका लागि रु ५० हजार उपलब्ध गराएको छ भने घर पनि गाउँपालिकाले नै निर्माण गरिदिने गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले बताए । घरका लागि प्रतिपरिवार रु दुई लाख गाउँपालिकाले उपलब्ध गराउने गिरीले जानकारी दिए । गाउँपालिकाले प्याकेजमै विपन्न परिवारको व्यावस्थापनको योजना अगाडि बढाएको छ । अब एकीकृत बस्ती निर्माणको काम अगाडि बढाइने गाउँपालिकाले जनाएको छ ।