कञ्चनपुरका सांसदद्वारा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ध्यानाकर्षण



काठमाडाैँ । कञ्चनपुरका सांसदहरुले निर्माणाधीन विभिन्न संरचना समयमै सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ध्यानाकर्षण गराएका छन् । सांसद्हरु निरुदेवी पाल, डा दीपकप्रकाश भट्ट र नरबहादुर धामीले भौतिक पूर्वाधार सचिव रवीन्द्रनाथ श्रेष्ठलाई मंगलबार भेटेर पुललगायत संरचना चाँडो निर्माण गर्न ध्यानाकर्षण गराएका हुन् ।

दोधारा चाँदनी जोड्ने गरी महाकाली नदीमा निर्माणाधीन पुल निर्माण पुनः अघि बढाउन उनीहरुले माग गरेका छन् । “पुल चाँडो बनाउन हामीले माग गरेका छौँ, तीन चार महिनादेखि काम ठप्प छ”, सांसद धामीले भने । तीनै सांसदले विगतमा ठेक्का भएका कतिपय पुलको निर्माण प्रक्रिया अझै अघि नबढेको भन्दै सचिव श्रेष्ठको ध्यानाकर्षण गराएका छन् ।


तीन÷चार वर्ष अघि योजनामा परेका अरु पुल प्रक्रियामा नै नगएको भन्दै त्यसलाई अघि बढाउन आग्रह गरिएको सांसद् धामीले बताए । सचिव श्रेष्ठले महाकाली पुल जतिसक्दो चाँडो निर्माण सम्पन्न गर्न प्रतिबद्धता व्यक्त गरे । सरकारले चार वर्ष अघि महाकाली नदीको दोधारा–चाँदनीलाई जोड्ने गरी पक्की पुल निर्माण थालेको हो ।