अझै भएन काठमाडौँको फोहर व्यवस्थापन



काठमाडाैँ । पाँच दिनदेखि नियमित रुपमा काठमाडौँ उपत्यकाको फोहर व्यवस्थपान हुन थाले पनि अझै धेरै स्थानको फोहर उस्तै छ । बाह्र दिनसम्म उठ्न नसकेको फोहर यही फागुन १२ गतेदेखि विसर्जन हुन थाले पनि अझै सडक किनारमा थुपारिएको फोहर काठमाडौँ महानगरपालिकाले व्यवस्थापन गर्न सकेको छैन । यसको प्रत्यक्ष असर यातायात आवागमनमा र पैदल यात्रीलाई परेको छ ।

अहिलेसम्म कामपाको कालिमाटी, टङ्केश्वर चोक र डल्लु पुलमा थुपारीएको फोहर विसर्जन हुन सकेको छैन । लामो समयसम्म एकै स्थानमा फोहर रहँदा दुर्गन्ध फैलिएर थप समस्या भएको छ । कामपा वातावरण विभागका प्रमुख सरिता राईले अहिले नियमित रुपमा फोहर व्यवस्थापन भए पनि लामो समयसम्म फोहर थु्रप्रिएकाले समस्या भएको र अबको दुई दिनभित्र सबै स्थानको फोहर व्यवस्थापन गरिने बताइन् ।


स्थानीयको अवरोधका कारण यही फागुन १ गतेदेखि काठमाडौँँ उपत्यकाको १८ स्थानीय तहको फोहर व्यवस्थापन हुन सकेको थिएन । हाल फोहर विसर्जन गरिएको स्थान नुवाकोटको सिसडोलसम्म पुग्ने बाटो मर्मतको काम सम्पन्न नगरेको भन्दै पासाङल्यामू राजमार्गका स्थानीयले गरेको अवरोधका कारण फोहर उठ्न नसकेको हो । उपत्यकाको १८ स्थानीय तहको फोहर विसर्जनका लागि दीर्घकालीन योजना नबन्दा पटक पटक समस्या उत्पन्न भएको राईको भनाइ छ ।

विसं २०७० देखि सुरु गरेको बाटो अहिलेसम्म बन्न नसक्दा त्यहाँ पटकपटक स्थानीयले आन्दोलन गरी फोहर विसर्जनमा अवरोध पु¥याउँदै आएका छन् । “यो विषयमा सङ्घीय सरकार संवेदनशील हुनुपर्छ’’ उनले भनिन्, “समयमै बाटो निर्माण गर्न पहल गरिनुपर्छ ।’’

हाल बञ्चरेडाँडामा फोहर व्यवस्थापनस्थल निर्माण गरिँदै छ । काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर नुवाकोटस्थित सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । उक्त स्थान पनि भरिएपछि फोहर व्यवस्थापनमा समस्या भएको हो । उपत्यकाबाट दैनिक करिब एक हजार मेट्रिक टन फोहर निस्कन्छ ।