मनषा थाइ फुड्समा लागेको आगो ११ घण्टापछि नियन्त्रणमा



झापा । झापाको मेचीनगर १४ स्थित दुवागढीमा रहेको मनषा थाइ फुड्समा भएको आगलागी ११ घण्टापछि नियन्त्रणमा आएको छ ।

विहान ५ बजेदेखि लागेको आगो नियन्त्रणका लागि नेपाली सेना, शसस्त्र प्रहरी, जनपथ प्रहरी लगायत स्थानीयहरु विहानैदेखि जुटेका थिए । झापा, मोरङ, सुनसरी र ईलामका सबै दमकलहरु आगो निभाउन प्रयोग भएको थियो । अपरान्ह ४ बजे आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक बसन्त पाठकले जानकारी दिए ।


चार बिघा जमिनमा फैलिएको कारखानाको प्रशासनिक भवन बाहेक अन्य सम्पूर्ण भौतिक सामाग्री, तयारी चाउचाउ र कच्चा पदार्थ जलेर नष्ट भएको कारखानाका सञ्चालक अजयकुमार अग्रवालले बताए ।

कारखाना सम्पूर्ण रुपमा आगलागीबाट खरानी भएको स्थानीयले बताएका छन् । क्षति विवरणबारे अहिले नै भन्ने अवस्था नरहेको प्रहरीले जनाएको छ । आगलागीबाट मेशिनरीदेखि लिएर सबै संरचनाहरु काम नलाग्ने गरी नष्ट भएको प्रहरीको भनाई छ ।